जन्मदिनमा ‘पुजार सार्की’को छायांकन सेटबाट प्रदीपको लुक्स सार्वजनिक

जन्मदिनमा ‘पुजार सार्की’को छायांकन सेटबाट प्रदीपको लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘पूजार सार्की’को छायांकन धमाधम भैरहेको छ । आइतबार सिनेमाका मुख्य अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर सिनेमाको छायांकन सेटबाट अभिनेता खड्काको लुक्स सार्वजनिक गरिएको छ ।

निर्देशक दिनेश राउतले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेका हुन् । दुईवटा तस्वीरमा प्रदीपको लुक्सले दर्शकमाझ उत्सुकता पैदा गर्ने देखिन्छ । उनी विवाहमा दमाहा बजाउने दमाई पात्रको रुपमा देखिएका छन् । लामो कपालमा कालो टोपी र कालै रंगको स्टकोट लगाएका प्रदीपको लुक्सले सिनेमाप्रति दर्शकको कौतुहलता बढाउने विश्वास निर्माण टिमको छ ।

यो सिनेमामा प्रदीप ‘मैत बहादुर परियार’को भूमिकामा छन् । अभिनेता आर्यन सिग्देल भने पूजारीको भूमिकामा देखिँदैछन् । अर्का अभिनेता पल शाहको भूमिकाको बारेमा भने कुनै जानकारी गराइएको छैन । यी तीन स्टारले पहिलोपटक एकसाथ काम गरेकाले पनि ‘पूजार सार्की’ निर्माण अगावैदेखि चर्चामा छ । सिनेमालाई आगामी वर्षको जेठ पहिलो साता प्रदर्शन गर्ने तयारी छ ।

करिब ४० दिनदेखि कास्की जिल्लाको कास्कीकोटमा छायांकन भइरहेको सिनेमामा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शंकर आचार्य लगायतका कलाकारको पनि अभिनय छ । संगीतकार सुवास भुसालको निर्माण रहेको सिनेमाको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । सिनेमाको छायांकन राजेश श्रेष्ठले गरिरहेका छन् ।