‘रङ्गेली’मा आर्यन सिग्देलको ‘सरप्राइज’ इन्ट्री

‘रङ्गेली’मा आर्यन सिग्देलको ‘सरप्राइज’ इन्ट्री

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रवारदेखि प्रदर्शनमा आएको सिनेमा ‘रङ्गेली’मा अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् । सिनेमाको क्लाइमेक्समा खल पात्रको भयङ्कर स्वरूप र अभिनयमा देखिने सिग्देललाई दर्शक अत्यधिक रुचाएका छन् ।

आर्यनको सोही भूमिकाको लुक्समा पोस्टर सार्वजनिक गरिएको छ । उनलाई सिनेमामा सन्की गुण्डाको भूमिकामा देखाइएको छ । सिनेमामा आर्यनको ‘इन्ट्री’ पश्चात् रङ्गेलीको दोस्रो भागमा अभिनेता दयाहाङ राई र उनको ‘क्ल्यास’ हुने अवस्था रहेको छ ।

दोस्रो भाग निर्माण घोषणाको यो नौलो प्रयोग हो । दोस्रो भागमा आर्यन र दयाहाङ प्रमुख भूमिकामा हुनेछन् । लेखक तथा निर्देशक अर्जुन सुवेदीले दोस्रो भाग सकेसम्म छिटो बनाउने कोसिस गर्ने जनाए । रिलिजको दोस्रो दिन पनि सिनेमा ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको थियो ।

आइतबार बिहानैदेखि पनि सिनेमा हेर्ने दर्शक हलमा बाक्लो रूपमा देखिएका छन् । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो सिनेमामा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईँ सह(निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायांकार सुशन प्रजापति हुन् ।