सोमबारदेखि हलमा २१ मिनेट घटाइयो ‘रङ्गेली’को लम्बाई

सोमबारदेखि हलमा २१ मिनेट घटाइयो ‘रङ्गेली’को लम्बाई

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नारी दिवस तथा शिवरात्रिको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘रङ्गेली’लाई प्रिमियरमै लम्बाई छोट्याउन सुझाव मिलेको थियो । त्यसपछि निर्देशक अर्जुन सुवेदीले ५ मिनेट छोट्याएर सिनेमा रिलिज गरेका थिए । नभए सिनेमाको लम्बाई २ घण्टा ५५ मिनेट थियो ।

हल रिलिजपछि प्रायः दर्शकबाट सिनेमा धेरै लामो भयो भन्ने प्रतिक्रिया दिएपछि निर्देशक सुवेदीले थप २१ मिनेट घटाएका छन् । सोमबारदेखि ठ्याक्कै साढे २ घण्टा लम्बाईको सिनेमा प्रदर्शन गरिएको छ । निर्देशक सुवेदीले दर्शकको चाहनाअनुरुप नै सिनेमाको लम्बाई घटाएको बताए ।

‘राम्रो प्रतिक्रियाको बावजूद सिनेमा केही लामो भएको प्रतिक्रिया आएको थियो । यसलाई केही घटाउँदा र ‘फास्ट कटिङ’ गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात् गर्दै हामीले सिनेमालाई २१ मिनेट घटाएका छौं,’ निर्देशक सुवेदीले भने ।

पहिलोपटक सिनेमा निर्देशन गरेका अर्जुनलाई दर्शकले सुस्त र लामो लाग्ने सिनेमा हेर्न नचाहने रहेछन् भन्ने महसुस भएको छ । उनी भन्छन्, ‘मैले पहिलोपटक सिनेमा बनाएको हुँ । यसैले दर्शकको चाहना के हुने रहेछ भन्ने बुझ्ने अवसर पाएको छु । मुख्य कुरा त सिनेमा बनाउनभन्दा हलमा चलाउन मुस्किल हुने रहेछ भन्ने महसुस गरेको छु ।’

शुक्रबार र शनिबार सिनेमाको व्यापार राम्रो थियो । ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् । सह-निर्माताहरु युवक कार्की र शिव शंकर चौलागाईँ तथा एशोसियट निर्मातामा विवेक खड्का (योलो) छन् ।