‘द रेड सुटकेस’को पोस्टर सार्वजनिक, यस्तो छ सौगात, विपिन र सृष्टिको लुक्स

‘द रेड सुटकेस’को पोस्टर सार्वजनिक, यस्तो छ सौगात, विपिन र सृष्टिको लुक्स

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत ३० गते प्रदर्शन तयारीमा रहेको भेनिस सिनेमा महोत्सवमा प्रिमियर भएको नेपाली सिनेमा ‘द रेड सुटकेस’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सिनेमाको निर्माण टिमले आइतबार वितरकको रुपमा रोहीत-रत्नको आरआर फिल्मस्सँग सम्झौता गर्दै पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा सिनेमाका मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । सृष्टि श्रेष्ठ ग्रामीण महिलाको भूमिकामा देखिएकी छन् । सौगात मल्ल र विपिन कार्की पनि आफ्नो चरित्र प्रस्तुत छन् । यो सिनेमामा अभिनेता प्रवीण खतिवडाको पनि मुख्य भुमिका रहेको छ ।

सिनेमाले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यसले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा पेश गर्छ । ड्राइभरको यात्रासँगै हामी देशको आर्थिक, राजनीतिसँग परिचित हुन पुग्छौं, जुन हामी कसैका लागि पनि सुखद अनुभवदायक छैन । सिनेमामा मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् ।

यो सिनेमा यसअघि स्वीट्जरल्याण्डको जुरिच सिनेमा महोत्सवमा समेत प्रिमियर भएको छ । फिडेल देवकोटा निर्देशित सिनेमालाई आइसफल प्रोडक्सनले निर्माण गरेको हो । सिनेमामा निर्देशक फिडेलकै लेखन रहेको छ ।

सुशन प्रजापतिको छायांकन रहेको सिनेमालाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको सिनेमामा शोभा थापा, रामकृष्ण पोखरेल र निर्देशक देवकोटा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह-निर्माताको रुपमा रहेका छन् ।