निफमा राजेश हमालको पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद

निफमा राजेश हमालको पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पूर्वप्रधानमन्त्री केपी ओलीसँग महानायक राजेश हमालले सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल सिनेमा महोत्सव (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा सेसनमा दिग्गज नेता र अभिनेता संवाद गर्ने भएका हुन् ।

सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रबार ११ बजे देखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ । राष्ट्रिय सभागृहको हलमा आयोजना हुने दुईबीचको संवाद निशुल्क अवलोकन गर्न पाइनेछ ।

चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली सिनेमाको बजार, सिनेमा समीक्षा र एआइको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराए ।

महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्नेछन् भने नम्रता शर्माले सिनेमामा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मासँग कुरा गर्नेछिन् ।

बिहीबार सुरु भएर सोमबार समापन हुने महोत्सवमा दुवै छलफलका कार्यक्रम आइतबार पर्यटनको बोर्डको हलमा हुनेछन् । छलफलका शृंखला अन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा सिनेमा निर्माणमा पर्नसक्ने असरका बारेमा एकल प्रस्तुति दिनेछन् भने शनिबार नै सिनेमा समीक्षक प्रभाकार गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुंगानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन् ।

शुक्रबार भने सिनेमा पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसरहरु शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउनेछन् । सबै सेसनहरु पर्यटन बोर्डमा सन्चालन हुने छन भने सुत्र टिभी, निफ लगायत बिभिन्न समाजिक सन्जालहरु बाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

विश्व चर्चित गायिका आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै यो सालको निफ सुरु गरिने कार्यक्रम छ । महोत्सवको उद्घाटन सुन्धारास्थित सिभिल मलमा हुनेछ भने समापन राष्ट्रिय सभा गृहमा गरिने आयोजकले जनाएको छ । यो संस्करणमा ४० देशका ८८ सिनेमा देखाइने छन् ।