ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’मा ‘नेपाली फिक्सन’ रिलिज

ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’मा ‘नेपाली फिक्सन’ रिलिज

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कान्तिपुर सिनेमा एकेडेमीले सञ्चालनमा ल्याएको ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’मा स्वतन्त्र सिनेमामेकरले बनाएका सिनेमाहरु रिलिज भइरहेका छन् । यो प्लेटफर्ममा ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’ लगायतका ‘इन्डिपेन्डेन्ट’ सिनेमाहरु उपलब्ध छन् ।

अब अर्को ‘इन्डी’ सिनेमा ‘नेपाली फिक्सन’ रिलिज भएको छ । एकजना ग्याङ्स्टरलाई लागू औषधको समान र्पुयाउन गएका दुई पात्रबीच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाव र लालचबाट उत्पन्न हुने अन्तरद्वन्द्वलाई सिनेमामा कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

सिनेमाको गत फागुन २ गते काठमाडौंस्थित विश्वज्योति हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा सिनेमालाई सुखद् प्रतिक्रिया मिलेको थियो । यो सिनेमा सन् २०२२ मा बनाइएको थियो । सिनेमालाई देवेन्द्र खत्रीले निर्देशन गरेका हुन् । यसअघि उनले थुप्रै छोटा सिनेमा बनाएका थिए ।

संजोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा, रुपेश दाहाल आदिको अभिनय रहेको सिनेमामा आशिष घिमिरेको छायांकन तथा सजल लोप्चनको सम्पादन छ । यो ओटीटीमा ‘नेपाली फिक्सन’सहित ‘ब्रह्माण्ड’, ‘जुलेबी’, ‘चि मुसी चि’, ‘ज्याकी : आईएम ट्वान्टी वान’ जस्ता सिनेमा तथा सिरिज उपलब्ध छन् ।