नेपाली सिनेमाको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु : मेयर साम्पाङ

नेपाली सिनेमाको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु : मेयर साम्पाङ

उनले आगामी वर्षदेखि धरान उपमहानगरपालिकाले सिनेमा क्षेत्रमा पनि बजेट विनियोजन गर्ने जानकारी दिए ।

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महाजात्रा’को निर्माण टिम यतिवेला सिनेमाको प्रचार प्रसारको लागि देश दौडाहमा छ । यही क्रममा सिनेमाको निर्माण टिम मंगलबार र धरान र इटहरी पुगेको थियो ।

त्यहाँ सिनेमाको निर्माण टिमले ‘महाजात्रासँग स्थानिय सरकार : सिनेमा संवाद’ कार्यक्रम सञ्चालन गरिएको थियो । यो धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ पनि उपस्थित थिए । जहाँ उनले आगामी वर्षदेखि धरान उपमहानगरपालिकाले सिनेमा क्षेत्रमा पनि बजेट विनियोजन गर्ने जानकारी दिए ।

धरानमा रहेका सिनेमा छायांकनका लोकेसन समावेश हुने गरी डायरी सार्वजनिक गरिने उनले बताए । ‘नेपाली सिनेमाको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु,’ मेयर साम्पाङले भने, ‘अबको सिनेमालाई लिएर बजेटमा राख्छु ।’ उनले नेपाली कला संस्कृतिको विकासमा आफू गम्भीर रहेको समेत बताए ।

अभिनेता हरिवंश आचार्यले नगरप्रमुख राईको काम गर्ने शैलीको आफू प्रशंसक रहेको बताए । धरानमा आफू अभिनित सिनेमा ‘बलिदान’ छायांकन गरेको स्मरण गर्दै उनले सिनेमाका लागि धरान बिशेष रहेको बताए ।

अभिनेता रवीन्द्रसिंह बानियाँले सरकारसँग आफूहरुले हातेमालोको आशा राखेको बताए । सिनेमा छायांकनका लागि लोकेसनको खोजीमा सहजीकरण गर्न उनले आग्रह गरे । अभिनेता विपिन कार्कीले छायांकन स्थलको लागि कहिलेकाहीँ लफडा पर्ने बताए ।

अभिनेता रवीन्द्र झाले छायांकन स्टुडियो जरुरी रहेको बताए । अभिनेत्री वर्षा राउतले लोकेसनको खोजीमा उपमहानगरले सहजीकरण गर्नुपर्ने बताइन् । महिला कलाकारलाई सिनेमा छायांकनमा असहज हुने भएकाले स्थानीय सरकारले समन्वय गर्नुपर्ने बताइन् ।

सिनेमामा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको सिनेमामा अभिनय छ ।

सफल सिनेमा ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । निर्देशक भट्टराईले यो सिक्वलको कथा यसअघिका सिक्वलकै थिममा रहेको बताए । सिनेमा हासो र रोदनको मिश्रणलाई मौलिक्तासहित प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ । सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।