विदेशमा बढ्यो दयाहाङ र मिरुना अभिनित ‘रङ्गेली’को माग

विदेशमा बढ्यो दयाहाङ र मिरुना अभिनित ‘रङ्गेली’को माग

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘रङ्गेली’को नेपाल प्रतिक्रियापछि ओभरसिज बजारमा माग बढेको छ । प्रदर्शनअघि नै अमेरिका, क्यानडा, जापान र कोरियामा बिक्री भइसकेको सिनेमाको हालै मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा प्रदर्शन अधिकार बिक्री भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए ।

अरु देशबाट पनि सिनेमाको माग आएको उनले बताए । अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशमा रिलिजको लागि अन्तिम तयारी भइरहेको पनि निर्देशक सुवेदीको भनाई छ । मलेशियासहित ६ वटा खाडी मुलुकमा सुरज लम्साल र एक्का बास्सा इन्टरटेन्मेन्टले रिलिज गर्दैछ ।

अमेरिका वितरणमा एक्काले लाइभ एट प्रिजेन्टसँग सहकार्य गरेको छ । जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले सिनेमाको वितरण गर्दैछ । शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको ‘रङ्गेली’लाई दर्शकबाट अब्बल ‘वर्ड अफ माउथ’ मिलेको निर्माण टिमको दाबी छ ।

दर्शकबाट सिनेमा केही लामो भएको प्रतिक्रिया प्राप्त भएपछि २१ मिनेट घटाइएको थियो । अब सिनेमा साढे २ घण्टाको छ । बुधवार धेरै हलहरुमा ५० प्रतिशत छुटको अफर भएकाले सिनेमामा दर्शकको चाप उल्लेख्य रहेको वितरक गोविन्द शाहीले बताए ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धितालको मुख्य भूमिका छ भने क्लाइमेक्समा अभिनेता आर्यन सिग्देल भिलेन अवतारमा देखिएका छन् । उनको इन्ट्रीले दर्शकलाई ‘सरप्राइज’ बनाएको छ । अब यसको सिक्वेल ‘रङ्गेली २’मा आर्यनको भिडन्त दयाहाङसँग हुने देखिन्छ । सुसन प्रजापतिले सिनेमाको छायांकन गरेका हुन् ।