दोस्रो सातामा ‘उपहार’ र ‘रङ्गेली’

दोस्रो सातामा ‘उपहार’ र ‘रङ्गेली’

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत फागुन २५ गतेबाट प्रदर्शनमा आएका सिनेमा ‘उपहार’ र ‘रङ्गेली’ दोस्रो सातामा प्रवेश गरेका छन् । दोस्रो सातामा नयाँ नेपाली सिनेमा नहुनूको फाइदा यी दुई सिनेमालाई मिलेको छ । दुवै सिनेमाले पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेका हुन् ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो सिनेमाबाट अभिनेत्री रेखा थापाले ‘मालिका’ रिलिजको ५ वर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन । यो सिनेमा रिलिज पश्चात उनको क्रेज नघटेको चर्चा भैरहेको छ । साथै, यस पटक हलमा पूजा र बेनिशाको पनि राम्रो क्रेज देखिएको थियोे । निर्देशक देउजाको कामको पनि तारिफ भैरहेको छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको सिनेमामा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।

यता रिलिजको पहिलो दिनदेखि नै राम्रो व्यापार गरिरहेको ‘रङ्गेली’को विदेशमा उच्च माग भएको छ । नेपालमा प्राप्त प्रतिक्रियाले विदेशबाट डिमान्ड आएको निर्देशक सुवेदीले बताए । यो सिनेमा अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो । अहिले विभिन्न देशमा प्रदर्शनको लागि कुरा भैरहेको छ ।

दर्शकबाट सिनेमा केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो सिनेमामा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । सिनेमाको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, रबीन बोगटी, सुन्दर धिताल लगायतको मुख्य भूमिका रहेको छ । सिनेमाका कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई तथा शिव शंकर चौलागाईँ स-निर्माता हुन् ।