पूर्वप्रधानमन्त्री ओलीद्धारा राजेश हमालको तारिफ, पहिलो पटक हेरेका थिए ‘आमा’ र ‘माइतीघर’

पूर्वप्रधानमन्त्री ओलीद्धारा राजेश हमालको तारिफ, पहिलो पटक हेरेका थिए ‘आमा’ र ‘माइतीघर’

ओलीले भने-'समाजसँग घुलमिल हुन उहाँ असाध्धै सिपालु हुनुहुन्छ । यिनै विशेषता र गुणले मलाई राजेश हमाल मनपर्छ ।'

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौंमा बिहीबारदेखि सातौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) सुरु भएको छ । विभिन्न छलफल सत्रसहित आयोजना गरिएको महोत्सवमा ४० देशका ८८ फिचर, लघु र वृत्तचित्र प्रदर्शन हुँदैछन् ।

निफको शुक्रबार कार्यक्रम अर्न्तगत राष्ट्रिय सभागृहमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र महानायक राजेश हमालले करिब २ घण्टा सिनेमा र अन्य विषयमा केन्द्रित भएर संवाद गरेका थिए । छलफलको क्रममा हमालले ओलीलाई कस्तो सिनेमा मनपर्छ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले राम्रो सिनेमा मनपर्ने बताए ।

कस्तो सिनेमालाई राम्रो भन्नुहुन्छ भन्ने हमालको प्रश्नमा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘त्यसको तीनवटा पक्ष हुन्छ । एउटा, देशभक्तिपूर्ण सिनेमा । दोस्रो, चेतनामुलक र जागरणमुलक । तेस्रो, मनोरञ्जनात्मक सिनेमा ।’ तीनटै शैलीका सिनेमाको आ-आफ्नै विशेषता हुने भनाई ओलीको थियो ।

देशभक्ति सिनेमा ‘नालापानी’को उदाहरण दिँदै ओलीले भने, ‘विदेशीले आफ्नो देश कब्जा गर्न खोज्दा त्यसविरुद्ध नेपालीहरुले बहादुरीपूर्वक लडेका छन् । यो देशभक्ति सिनेमा हो । धेरै देशमा पनि यस्ता सिनेमा बनेका छन् । जन जागरणका सिनेमा पनि हेर्ने गर्छु । पछिल्लो समयमा आएका ‘छक्का पञ्जा’ जस्ता सिनेमामा देशभक्ति वा जन जागरणभन्दा पनि मनोरञ्जन पक्षलाई प्रधानता दिइएको छ ।’

उनले हमालको मनपर्ने विशेषता र गुणको समेत संवादको क्रममा प्रशंसा गरेका थिए । ‘उहाँ ह्यान्डसम हुनुहुन्छ । विद्वान् हुनुहुन्छ । सालिन हुनुहुन्छ । गुड म्यानरको व्यक्ति हुनुहुन्छ,’ ओलीले अगाडि भने, ‘राम्रो अभिनयकर्ता हुनुहुन्छ । अभिनय गरेको बेला आफू को थिएँ भन्ने नै विर्सिनुहुन्छ । समाजसँग घुलमिल हुन उहाँ असाध्धै सिपालु हुनुहुन्छ । यिनै विशेषता र गुणले मलाई राजेश हमाल मनपर्छ ।’

ओलीको जीवन प्रेरणादायक रहेको महानायक हमालले बताए । उनले ओलीको प्रशंसामा भने, ‘मैले उहाँको जति जीवन संघर्ष बुझेको छु, त्यसबाट के भन्न सक्छु भने उहाँबाट हामीले प्रेरणा लिन सक्छौं । उहाँ हरेक वातावरणमा सहज भइदिनुहुन्छ । चाहे कलाकार होस् वा राजनीतिज्ञ, सबै व्यक्तिसँग त्यही हिसाबले प्रस्तुत हुन सक्नुहुन्छ । उहाँको जस्तो खुबी मैले सबै राजनीतिकर्मीमा देखेको छैन ।’

‘२०२० सालमा मलाई दुईटा कुरा हेर्न मन लाग्यो । एउटा रेल र अर्को सिनेमा । भारतको बिहारको गलगलिया गएर रेल हेरेँ,’ पूर्वप्रधानमन्त्री ओलीले पहिलोपटक नेपाली सिनेमा हेरेको स्मरण गर्दै भने, ‘त्यसबेला झापा र सुनसरीमा गरी दुईवटा हल खुलेको थियो । एउटामा ‘आमा’ सिनेमा हेरेँ र अर्कोमा ‘माइतीघर’ हेरेको थिएँ ।’ यसरी ओलीले आफुले पहिलो पटक नेपाली सिनेमा हेरेको स्मरण निफको सिनेमा संवाद कार्यक्रममा गरेका थिए ।