‘रङ्गेली’ भारतमा हिन्दी भाषामा, सय पर्दामा रिलिज हुने

‘रङ्गेली’ भारतमा हिन्दी भाषामा, सय पर्दामा रिलिज हुने

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत फागुन २५ गतेदेखि नेपालमा प्रदर्शनरत सिनेमा ‘रङ्गेली’ अब भारतमा रिलिज हुने भएको छ । भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले ‘रङ्गेली’लाई भारतमा प्रदर्शन गर्न लागेको हो ।

युसुफ शेखको नेतृत्वमा सिनेमाको स्कृप्ट हिंन्दीमा अनुवादको काम भैरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । भारतका एक सयभन्दा बढी सिनेमा हलमा सिनेमा रिलिज हुनेछ । एन मुभिजले ‘हनुमान’, ‘पेज ३’, ‘मलामाल वीक्ली’, ‘कर्पोरेट’, ‘ट्राफिक सिग्नल’, ‘जन्नत’, ‘न्युटन’ जस्ता धेरै भारतीय सिनेमाको वितरण गरिसकेको छ ।

एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरुमा सिनेमा वितरण पनि गर्दै आइरहेका छन् । निर्माता खतिवडाले चाँडै भारतमा सिनेमाको प्रदर्शन मिति घोषणा गरिने बताए । यसको हिन्दी डबिङ भने मुम्बईमा हुने उनको भनाई छ । नेपालपछि ‘रङ्गेली’ अमेरिकामा समेत प्रदर्शन भैसकेको छ ।

अमेरिकामा सिनेमा ‘हाउसफुल’ दर्शकका साथ प्रदर्शनको सुरुवात भएको निर्देशक अर्जुन सुवेदीले बताए । चाँडै क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि सिनेमा प्रदर्शन हुँदैछ । नेपालमा दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त भएपछि विदेशमा सिनेमाको माग बढेको निर्देशक सुवेदी बताउँछन् ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल, रबीन बोगटी, सन्तोष सरकारको मुख्य भूमिका छ भने क्लाइमेक्समा अभिनेता आर्यन सिग्देल भिलेन अवतारमा प्रस्तुत छन् । उनको इन्ट्रीले दर्शकलाई ‘सरप्राइज’ बनाएको छ । सुसन प्रजापतिको छायांकन रहेको सिनेमा ग्याङ्स्टर जनरामा निर्माण भएको हो ।