महिला दर्शकले सोमबार ‘अगस्त्य’ हेर्दा टिकटमा छूट पाउने

महिला दर्शकले सोमबार ‘अगस्त्य’ हेर्दा टिकटमा छूट पाउने

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत फागु १८ गतेबाट प्रदर्शनमा आएको सौरभ चौधरी निर्देशित सिनेमा ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा सोमबार महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । निर्माताले शनिबार विज्ञप्ति जारी गर्दै महिलाले समाजमा खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाई सम्मान गर्दै २५ प्रतिशत छूटको व्यवस्था गरिएको उल्लेख छ ।

यो सिनेमा महिलाको कथामा आधारित भएर निर्माण गरिएको छ । नेपालबाट भारतमा बेचिने नेपाली महिलाको कथावस्तुमा सिनेमा निर्माण भएको हो । सिनेमाको निर्माण कम्पनिले पहिलो र दोस्रो हप्तामा दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएको र तेस्रो सप्ताहन्तमा समेत राम्रो व्यापार गरिरहेका सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

शक्तिशाली दृश्य भाषामार्फत हामीले मानव बेचबिखनलाई पेश गरेको निर्देशक चौधरी बताउँछन् । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माताको रुपमा रहेका छन् । सिनेमामा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेका सिनेमामा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।