शंकर कार्कीको ‘सिड्नी ब्लुज’मा पुष्प र अञ्जना अनुबन्धित

शंकर कार्कीको ‘सिड्नी ब्लुज’मा पुष्प र अञ्जना अनुबन्धित

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शंकर कार्कीको निर्देशनमा निर्माण हुने सिनेमा ‘सिड्नी ब्लुज’को निर्माण घोषणा गरिएको छ । सिनेमाको मुख्य भुमिकामा अभिनेता पुष्प खड्का र अभिनेत्री अञ्जना बराइली फाइलन भएका छन् । शुक्रवार निर्माण पक्षले उनीहरुसँग कागजी सम्झौता गरेको हो ।

हाल प्रि-प्रोडक्सनमा रहेको सिनेमामा पुष्प र अञ्जनाका अलवा रवीन्द्र झा, शिव आर ठकुरी लगायतको मुख्ख भूमिका रहनेछ । शिवले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गर्दैछन् । सिनेमाको जुन २०२४ को पहिलो हप्ताबाट छायांकनको लक्ष्य रहेको निर्माण पक्षले बताएको छ ।

सिनेमामा आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्कीले बताए । ‘अष्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा सिनेमा मार्फत भन्ने प्रयास गर्नेछु,’ निर्देशक कार्कीले बताए ।

सिनेमाको छायांकन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ । सिनेमाको छायांकनको समयमा नेपाली सिनेमामा खासै प्रयोग नगरिएको मिनेचर सेट र प्रोस्थेटिक मेकअपको प्रयोग हुने निर्देशक शंकर कार्कीले बताए ।

अभिनेता पुष्पले यो सिनेमामा आफूले चार किसिमको लुक्समा र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्नुपर्ने बताए । उनले निर्देशकको सोचलाई पूरा गर्न आफूले सके जति मेहनत गर्ने सुनाए ।

सिनेमाको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरेले लेखेका हुन् । सुसन प्रजापतिले छायांकन गर्ने सिनेमाका निर्माण व्यवस्थापक प्रकाश हमाल हुन् । कुटुम्ब ब्यान्डले ब्याकग्राउन्ड स्कोर दिने सिनेमाका कोरियोग्राफरमा रामजी लामिछाने छन् ।

आर्ट मुभिजको प्रस्तुतिमा डि मिडियाले निर्माण गर्ने सिनेमाको रिलिज लक्ष्य २०२४ को डिसेम्बर रहेको छ । सिनेमाकी निर्माता आरती शाही हुन् । तारा नेपाली कार्यकारी निर्माता र एशोसियट निर्मातामा धर्म सुवेदी छन् ।