दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ छायांकन ३० दिनमा सकियो

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ छायांकन ३० दिनमा सकियो

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा ‘घरज्वाइँ’को छायांकन सकिएको छ । गत फागुन ५ गते रुकुम पूर्वको लुगुम गाउँबाट सुरु भएको छायांकन एक महिनामा ‘प्याकअप’ भएको हो ।

आइतबार सिनेमाको अन्तिम दृश्य खिचिएको थियो । छायांकन सकिएपछि रुकुमका स्थानीयहरुले सिनेमाको टिमलाई फूलमालाले विदाई गरेका छन् । अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमामा बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खबपु पुन लगायतका कलाकारको पनि अभिनय छ । जनक घर्ती मगर निर्माता रहेको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।

निर्माण टिमले उपलब्ध गराएको तस्वीरमा दयाहाङले कपाल मुण्डन गरेको देखिन्छ । यसैले उनले क्यापटोपी लगाएका छन् । उनी ‘घरज्वाइँ’को छायांकन भैरहँदा सिनेमा ‘रङ्गेली’को प्रिमियरमा सहभागी हुन काठमाडौं आएका थिए । त्यसबेला उनको कपाल लामो थियो । सिनेमाकै लागि उनले कपाल मुण्डन गरेको अनुमान गर्न सकिन्छ । अब दयाहाङले सिनेमा ‘कार्साङ’को छायांकन सुरु गर्दैछन् ।

निर्देशक मगरले सन् २०११ मा ‘लोम्बा’ नामक सिनेमाको निर्देशन गरेका थिए । यो सिनेमा सार्वजनिक प्रदर्शनमा नआएको भएपनि एक अमेरिकी सिनेमा महोत्सवमा विभिन्न विधामा अवार्ड जितेको थियो । यसपछि उनले फलाम खानीको कथामाथि सिनेमा ‘आग्रे’ बनाए, जसले अहिलेसम्म ७ विधामा अवार्ड जितिसकेको छ । अनिल सिनेमा ‘गोठालो’मा निर्माताको रुपमा समेत जोडिएका थिए ।

जिएम मुभिज प्रोडक्सनको व्यारमा निर्माण भएको ‘घरज्वाइँ’मा रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमा आगामी असार २८ गतेबाट प्रदर्शन हुँदैछ । आरआर फिल्म्सले सिनेमाको वितरण गर्नेछ ।