सकियो निफको सातौं संस्करण, विपिन र सुरक्षा उत्कृष्ट अभिनेता-अभिनेत्री

सकियो निफको सातौं संस्करण, विपिन र सुरक्षा उत्कृष्ट अभिनेता-अभिनेत्री

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को सातौं संस्करणमा अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड उचालेका छन् ।

सोमबार महोत्सवको समापन समारोहमा विपिनले सिनेमा ‘एक भागवत एक गीता’बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने सिनेमा ‘बुलाकी’बाट सुरक्षाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । उत्कृष्ट सिनेमा पनि ‘बुलाकी’ बन्न सफल भएको छ । यही सिनेमाबाट लक्ष्मण सुनारले उत्कृष्ट निर्देशकको अवार्ड पनि उचालेका छन् ।

झरना थापा निर्देशित सिनेमा ‘एक भागवत एक गीता’बाट राजेश श्रेष्ठ र संकल्प भुजेलले उत्कृष्ट सिनेमेटोग्राफीको अवार्ड जिते भने फिचर सिनमातर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरेका हुन् । फिचर सिनेमातर्फ अडियन्स च्वाइस अवार्ड ‘पखेटा’ले प्राप्त गर्यो ।

भारतको ‘वाइल्ड स्वान’ले गौतम बुद्ध फिचर सिनेमा अवार्ड, पोर्चुगलको ‘लभ लाइट’ले अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ माउन्ट एभरेस्ट अवार्ड, इजिप्टको ‘आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु सिनेमातर्फ बागमती अवार्ड, चीनको ‘द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड तथा सर्वियाको ‘लाजरस पाथ’ले डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड जित्यो ।

यसैगरी, राष्ट्रिय लघु सिनेमा र डकुमेन्ट्रीतर्फको अडियन्स च्वाइस अवार्ड भने ‘अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्न सफल भए । उत्कृष्ट राष्ट्रिय लघु सिनेमाको अवार्ड ‘एट एनोदर विन्टर’ले जित्न सफल हुँदा ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्रीतर्फ ‘जर्ना’बाट इनुमा राईले अवार्ड उचालिन् ।