‘महाजात्रा’ प्रिमियर- हेर्नेले भने ‘जात्रा’ र ‘जात्रै जात्रा’ भन्दा राम्रो छ

‘महाजात्रा’ प्रिमियर- हेर्नेले भने ‘जात्रा’ र ‘जात्रै जात्रा’ भन्दा राम्रो छ

‘महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ ।

द सिनेमा टाइम्स
462
Shares

द सिनेमा टाइम्स,काठमाडौं – ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा सिनेमा हेर्ने पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट सिनेमा  भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रिमियरमा सहभागी कलाकर्मीले मिडिया र सोसल मिडियामार्फत सिनेमा हलमै गएर हेर्न दर्शकलाई आग्रह गरेका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन, हरिवंश आचार्यको नेताको पात्र, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका सम्पूर्ण कलाकारको अभिनयको तारिफ भएको छ ।

अभिनेता मदनकृष्ण श्रेष्ठले सिनेमा हेरिरहदा समय वितेको पत्तै नपाएको बताए । उनले सिनेमाको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र संदेशको खुलेर तारिफ गरे । ‘सिनेमा राम्रो र रमाइलो बनेको छ । कुनै सिनेमा राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले संदेश दिन्छ तर जात्रा कै शैलीमा । परिवार एकसाथ बसेर हेर्नेसिनेमा बनेको छ’, अभिनेता श्रेष्ठले भने ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र संदेशमुलक सिनेमा बनेको प्रतिक्रिया दिईन् । ‘फिल्म हेरिरहदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिदैन । किनकि समग्रमा नै सिनेमाराम्रो बनेको छ । कलाकार पनि निकै मेहनत गरेका छन् । उनीहरू रेगुलर देखिरहने भन्दा फरक देखिएका छन्’, अभिनेत्री निरौलाले भनिन् ।

अभिनेत्री निशा अधिकारीले ‘जात्रा’ शृङ्खलाबाट बढिरहेको अपेक्षालाई आइरहेको सिनेमाले पुरा गरेको बताइन । ‘हामीले लिएर आउने अपेक्षालाई जात्रा टिमले महाजात्रासम्म आइपुग्दा पनि घट्न दिएको छैन, पुरा भएको छ ।
गायक तथा अभिनेता प्रकाश सपूतले समसामयिक विषयवस्तुमा सुन्दर सिनेमा बनाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए ।

अभिनेत्री केकी अधिकारीले सिनेमा हेरिरहदा ‘बलिदान’ को  हरिवंश आचार्यको याद आएको प्रतिक्रिया दिईन् । ‘जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महत्वपूर्ण छन् । यहाँ अनुहारका लागि मात्र अभिनय गराइएको छैन । मैले हेरुञ्जेल कहिकतै दिक्क फिल गरिन्, म दर्शकलाई पनि फिल्म हलमा स-परिवार हेर्न आग्रह गर्छु’, अभिनेत्री अधिकारीले भनिन् ।

अभिनेता तथा हास्य कलाकार जीतु नेपालले सिनेमामार्फत राजनीतिज्ञले संदेश पाउने बताए । सिनेमा पूर्ण प्याकेज बनेको छ । एउटा पक्ष मात्र राम्रो भएर सिनेमाले यत्तिको तारिफ पाउदैन । यो प्रिमियरमा उपस्थित सबैले तारिफ गरेका छन् । दर्शक ले छुटाउन नहुने फिल्म बनेको छ’, कलाकार नेपालले भने ।

अर्का हास्यकलाकार किरण केसीले फिल्मले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्ने बताए । ‘यो सिनेमा परिवार नै बसेर हेर्न मिल्छ ।  यो जात्रा शृङ्खलाको उत्कृष्ट सिनेमा हो’, कलाकार केसीले भने ।

अभिनेत्री ऋचा शर्माले समय सान्दर्भिक र दर्शकले हेर्न चाहेको कुरा सिनेमामा पाएको बताइन । ‘हलमा केही संवादमा सिठ्ठी र ताली बज्नेमा विश्वस्त छु । प्रिमियरमै हामी पात्रको सुखदुःखसँग जोडिएका थियौँ । यसमा कडा म्यासेज, हसाइ हसाइ दिनुभएको छ । हामीले शब्दमा व्याख्या गर्नु भन्दा पनि दर्शकले हलमै गएर हेर्नु भयो भने बढी पाउनु हुनेछ’, अभिनेत्री शर्माले भनिन् ।

अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा हेरेको सिनेमाराम्रो बनेको प्रतिक्रिया दिए । ‘मैले भन्दै आइरहेको कुरा नै आज सिनेमा हेरेपछि सबैले भन्नु भयो । स्क्रीप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हास्ने सिनेमा बनाउछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यहि भन्दा डबल हर्षित छु’, अभिनेता आचार्यले भने ।

अभिनेत्री वर्षा राउतले सबैले दिएको प्रतिक्रियाले आफूलाई दंग बनाएको बताइन । ‘म आज टिम भएर सिनेमा हेर्दा र प्रतिक्रिया बटुल्दा निकै उत्साहित छु । अब दर्शकसँग सिनेमा हेर्न निकै उत्सुक छु । सिनेमाको पात्रसँग हलमा रहेका दर्शकहरू कनेक्ट भएको पाउदा म निकै खुसी छु’, अभिनेत्री राउतले भनिन् ।

अभिनेता विपिन कार्कीले ‘जात्रा’ र ‘जात्रै जात्रा’ भन्दा बढी मनोरञ्जन ‘महाजात्रा’ मा पाउने दावी गरे । ‘अघिल्ला शृङ्खला भन्दा बढी माया पाउनेमा विश्वस्त छु । मलाई हिरो बनाएको र चिनाएको सिनेमा  नै जात्रा शृङ्खला हो । यो मेरो करिअरलाई अगाडि बढाउने सिनेमा हो । जात्रा झैँ महाजात्राले पनि मलाई नयाँ उचाईमा प¥ुयाउने छ’, अभिनेता कार्कीले भने ।

लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताए । ‘हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ । हाम्रो प्रस्तुतीकरणमा आज प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नु हुँदा हाम्रो टिम र समुहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ । जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने ।

निर्माता म्याक्स दीपेश खत्रीले नेपालसँगै विश्वभर ‘महाजात्रा’ चैत ९ मा प्रदर्शन हुने जानकारी दिए । ‘मध्यपूर्वका देशमा मार्च २८ मा प्रदर्शन हुँदैछ । अन्य ठाउँमा हाम्रो शोहरू खुलिसकेका छन् भने अष्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो शो ‘सोल्ड आउट’ भईसकेको छ । साथै, साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रुपमा महाजात्रा प्रदर्शन हुँदैछ’, निर्माता खत्रीले भने ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । सिनेमामा कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।