‘पूजार सार्की’को छायांकन ४८औं दिनमा प्याकअप

‘पूजार सार्की’को छायांकन ४८औं दिनमा प्याकअप

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘पूजार सार्की’को छायांकन ४८औं दिनमा प्याकअप भएको छ । मंगलवार सिनेमामा समावेश गीत ‘दर्शन गरें हल्का निहुरेर’को छायांकनसँगै सम्पुर्ण छायांकन सकिएको निर्देशक राउतले बताए ।

अन्तिम दिन छायांकन भएको गीतमा सिनेमाका मुख्य कलाकार आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुले नृत्य गरेका छन् । सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ ।

सिनेमाको छायांकन सकिएसँगै पोखरामा ‘पुजार सार्की’मा उठान गरेको विषयवस्तु माथि संवाद समेत गरिएको छ । अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य समेत रहिसकेका दिल बहादुर नेपाली, मिजार समाज पोखराका अध्यक्ष उमेश सिके लगायत उपस्थित थिए ।

संवादमा सहभागी अभिनेता आर्यन सिग्देलले जातिय विभेद गर्नु अन्ध विश्वास मात्र भएको बताए । अभिनेता प्रदीप खड्काले आफू काठमाडौंमा जन्मे हुर्केका कारण यस प्रकारका कथाहरू सुनेको भएता पनि पहिलो पटक भोगेको र आफूले अभिनय गरिरहँदा ‘मैत बहादुर’ पात्रभित्र नै प्रवेश गरेको हुँदा आफ्नै कथा जसरी नै अभिनय गरेको बताए ।

कास्कीको कास्कीकोट गाउँ र आसपास छायांकन गरिएको सिनेमालाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले ‘प्रकाश’मा सहकार्य गरेका थिए । सिनेमालाई संगीतकार सुवास भुसालले निर्माण गरेका हुन् । सिनेमामा पनि भुसाल आफैले संगीतत तयार गरेका छन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भैरहेको ‘पुजार सार्की’मा राजेश श्रेष्ठको डिओपी, सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउण्ड डिजाइन, हिमाल केसीको द्वन्द्व निर्देशन, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ ।