‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक

‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको सिनेमा ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ । सिनेमा  आगामी वैशाख १४ गते रिलिज हुँदैछ ।

गीतको भिडियोमा अभिनेत्री केकी र सिनेमाका निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ । गीतको भाव अनुसार दृश्य अपुरो छ । निर्माण पक्षले यसलाई ‘सस्पेन्स’ मा राखेको छ ।

केही समयअघि नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको टिजरले राम्रै चर्चा पाएको थियो । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर अभिनेत्री केकीले यो सिनेमा  निर्माण गरेकी हुन् । उनले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो ।

सिनेमामा  केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । कार्यकारी निर्माता राज घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।