पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिए ‘महाजात्रा’लाई शुभकामना, थपिए शो

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिए ‘महाजात्रा’लाई शुभकामना, थपिए शो

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘महाजात्रा’ हेर्ने चाहना पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेका छन् । शुक्रबार फेसबुकमा पोस्टर सेयर गर्दै उनले समय मिलेमा हेर्ने उल्लेख गरेका हुन् ।

पूर्वप्रधानमन्त्री ओली लेख्छन्, ‘हरिवंश आचार्य मलाई मनपर्ने कलाकार हुनुहुन्छ । आजदेखि उहाँको सिनेमाको ‘महाजात्रा’ प्रदर्शन सुरु हुने रैछ । अघि सामाजिक सञ्जालमा पोष्टर हेरें । यो सिनेमामा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ । समय मिलेमा म पनि हेर्छु ।’

सिनेमामा ओलीको अभिरुचि गहिरो रहेको देखिन्छ । उनी बेला बखत नेपाली सिनेमा सम्बन्धित कार्यक्रममा सहभागी समेत हुने गरेका छन् । गत साता नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा उनले अभिनेता राजेश हमालसँग दुई घण्टा सिनेमा र कलाको बिषयमा छलफल गरेका थिए ।

एसिड आक्रमणको कथामा बनिरहेको सिनेमा ‘नमेटिने घाउ’मा उनी पूर्वप्रधानमन्त्रीकै भूमिकामा देखिँदैछन् । सन्देशमूलक भएकाले यो सिनेमामा अभिनय गर्न चाहेको उनले सिनेमाको शुभमुहूर्त कार्यक्रममा बताएका थिए । ओलीले त्यसपछि मिलन चाम्स निर्देशित सिनेमा ‘गोर्खा वारिअर’ पनि प्रिमियर शोमा नै पुगेर हेरेका थिए ।

यस्तै बिहानी शोबाट नै हाउसफूल पदर्शनको सुरुवात गरेको महाजात्राको मल्टिप्लेक्स हलहरुमा शो थपिन थालेका छन् । हलमा दर्शकको चाप देखिएपछि दिउँसो २ बजेबाट विभिन्न हलमा शो थपिएको वितरकले जानकारी दिएका छन् । दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथ पाइरहेको सिनेमाले शुक्रबार १ करोड माथिको ओपनिङ्ग गर्ने अपेक्षा निर्माण टिमको छ ।

आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै सिनेमाको मुख्य कथा हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमामा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ ।

सिनेमामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । जितबहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र कालीप्रसाद बाँस्कोटा संगीत, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का सिनेमाका मुख्य सहायक निर्देशक हुन् ।