पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हेरे ‘महाजात्रा’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हेरे ‘महाजात्रा’

अध्यक्ष ओलीले भने, 'यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा संदेश दिएको छ । सिनेमा काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण सिनेमाबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।'

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिनेमा ‘महाजात्रा’ हेरेका छन् । सोमबार सुन्धारास्थित सिने डी सेफमा श्रीमती राधिका शाक्यसहित सिनेमा हेर्न पुगेका ओलीले भरपुर इन्जोय गरेको बताए ।

‘सिनेमा राम्रो बन्न संदेश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । यसले बाटो विराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ’, अध्यक्ष ओलीले भने, ‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा संदेश दिएको छ । सिनेमा काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण सिनेमाबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’

अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० नेताले सिनेमा हेरेका थिए । सिनेमा अवधिभर मनोरञ्जनसँगै संदेश प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताइन् ।

अध्यक्ष ओलीसहित सिनेमा हेर्न उपस्थित सम्पूर्ण नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए । सिनेमालाई अध्यक्ष ओली अगाडि पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हेरिसकेका छन् ।

‘हाम्रो सिनेमालाई समय निकालेर हेर्नुका साथै उठान गरिएको विषयलाई महसुश गरिदिनु भएकोमा कृतज्ञ छौँ । यसपटक हामीले सिनेमालाई मनोरञ्जनमै सिमित नराखी सिनेमाकर्मीको दायित्व बहन गर्दै संदेशसमेत दिएका छौँ’, निर्देशक भट्टराईले भने, ‘दर्शकसँगै राजनीतिज्ञबाट प्राप्त गरिरहेको प्रतिक्रियाले हामीलाई ऊर्जा थपेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने मार्गनिर्देश समेत गरेको छ ।’

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आट्र्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको सिनेमा ‘महाजात्रा’ले दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरिरहेको छ ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । सिनेमालाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।