बैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को तेस्रो संस्करण

बैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को तेस्रो संस्करण

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख ६ देखि ८ गतेसम्म रामेछापमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को तेस्रो संस्करण आयोजना हुने भएको छ । बुधबार रामेछाप जिल्लाको मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराइयो ।

ग्रामीण परिवेशमा निर्माण भएका नेपाली फिचर सिनेमा, लघु सिनेमा, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका सिनेमा महोत्सवमा प्रदर्शन गरिने जनाइएको छ । नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रम राखिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

रामेछाप नगरपालिकाको सभा हलमा आयोजना हुन लागेको महोत्सवमा २ दर्जनभन्दा बढी सिनेमा प्रदर्शन गरिने उनको भनाई छ । महोत्सवको संयोजकमा निर्देशक कमल एक्चै मगर छन् । उनले आफ्नै गृहजिल्ला महोत्सव गर्न पाँउदा खुसी लागेको बताए ।

रामेछाप जिल्लामा एउटा पनि सिनेमा हल छैन । त्यहाँका स्थानीयहरुले सिन्धुली झरेर सिनेमा हेर्ने गरेका छन् । महोत्सव अवधिमा ३ हजारभन्दा बढी स्थानीय दर्शक सहभागी हुने आयोजकको अनुमान छ । सिनेमाप्रति रुचि हुने दर्शकका लागि महोत्सव फलदायी सावित हुने र नेपाली सिनेमाको प्रचारमा ठूलो मद्दत पुग्ने आयोजकको विश्वास छ ।