आगामी वर्ष २०८१ माघ ११ मा ‘अञ्जिला’

आगामी वर्ष २०८१ माघ ११ मा ‘अञ्जिला’

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाका निर्देशक मिलन चाम्सले उपयुक्त मिति हेरी आगामी वर्ष २०८१ माघ ११ गते रिलिज गर्न लागिएको बताए ।

यो सिनेमामा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनका अलवा सिनेमामा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको अभिनय रहेको छ । सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठको पनि सिनेमामा प्रमुख भूमिका रहेको छ ।

एञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौंमा सिनेमाको छायांकन गरिएको छ । निर्देशक चाम्सले आफ्नो निर्देशन करियरमा यो सिनेमाले फरक छाप छोड्ने दाबी गरेका छन् । एञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई सिनेमामा जोड दिएको निर्देशक चाम्सले बताए ।

सफल खेलाडी बन्नु अगाडि एञ्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखि असम्भव भन्ने कुरा नहुने सन्देश सिनेमाले दिने चाम्सले बताए । निर्देशक चाम्सले यो सिनेमा ठ्याक्कै एञ्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत एञ्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने जानकारी दिए ।

निर्माता श्रेष्ठले एञ्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथा सिनेमामा देखिने बताए । १४ वर्षदेखि एञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा–दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर अञ्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए । श्रेष्ठले एञ्जिलाको संघर्ष र सफलताको कथाले धेरैलाई इन्स्पायर गर्छ भन्ने लागेर सिनेमा बनाएको बताए ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी यसका निर्माण नियन्त्रक हुन् । सुदीप बरालको डिओपी रहेको सिनेमामा सम्पादक मिलन श्रेष्ठ हुन् ।