दोस्रो सातामा ‘महाजात्रा’, पहिलो हप्ताको कमाई कति ?

दोस्रो सातामा ‘महाजात्रा’, पहिलो हप्ताको कमाई कति ?

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – षट्कोण आट्र्सले निर्माण गरेको सिनेमा ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत सिनेमाले पहिलो हप्ता झैँ दोस्रो सातामा पनि उच्च शो पाएको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा सिनेमालाई देशभरका सिनेमा हलले उच्च शो दिएका हुन् ।

सिनेमालाई प्राप्तले शोले ‘महाजात्रा’ले दोस्रो सातामा पनि आक्रामक व्यापार गर्ने निश्चित भएको छ । चैत ९ गतेदेखि प्रदर्शनरत सिनेमामा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्र सिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिनुभएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।

सिनेमाले नेपालमा मात्र नभई विदेशमा पनि नेपाल झैँ भव्यताका साथ व्यापार गरिरहेको छ । पहिलो साता अष्ट्रेलिया, युरोपका विभिन्न देशमा र संयुक्त राज्य अमेरिका र बेलायतमा नियमति बक्सअफिसमै प्रदर्शन भइरहेको अन्तर्राष्ट्रिय वितरण कम्पनि एमएसएम इन्टरटेनमेन्टले जानकारी दिएको छ । यस्तै, चैत १५ देखि मध्यपूर्वका देशहरूमा समेत ‘महाजात्रा’को प्रदर्शनको सुरुआत भएको छ ।

सिनेमाले पहिलो हप्तामा ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको छ । तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको सिनेमालाई पहिलो सातामा नकेपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरेका थिए ।

आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने संघर्ष देखाईएको सिनेमामा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । सिनेमालाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।