प्रकाशसँग मिलेर केकीले तयार गरिन ‘बोक्सीको घर’को गीत

प्रकाशसँग मिलेर केकीले तयार गरिन ‘बोक्सीको घर’को गीत

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको सिनेमा ‘बोक्सीको घर’ आगामी वैशाख १४ गतेबाट रिलिज हुँदैछ । रिलिजको एक महिना समय रहँदा केकी सिनेमाको प्रचारमा व्यस्त छिन् ।

सिनेमाको टिजर र ‘जिन्दगीको कथा’ बोलको गीत तथा केही दिनअघि सार्वजनिक ‘बोक्सी लुक्स’ले चर्चा बढाएको छ । आफ्नो सिनेमालाई अझ सशक्त रुपमा प्रचार गर्नका लागि अभिनेत्री केकीले गायक प्रकाश सपुतसँग मिलेर सिनेमाको नयाँ गीत ‘बुझिनँ मैले’ तयार पारेकी छन् ।

गायक प्रकाशकै शब्द र संगीत रहेको गीतमा प्रकाश र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । गीतको हालै मात्र भिडियो छायांकन पनि पुरा भएको छ । गीतको भिडियोमा केकी नै फिचर्ड छिन् । सिनेमामा शीर्ष चरित्र निर्वाह गरेकी केकीलाई भिडियोमा पनि सिनेमाकै लुक्समा अभिनय गराइएको छ । भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ ।

‘सिनेमाको टिजर, गीत र बोक्सी लुक्सले दर्शकमा कौतुहलता जगाएको छ । यो गीत अझ सशक्त किसिमको छ’, केकीले भनिन् । गायक तथा अभिनेता प्रकाशले अभिनेत्री केकीसँग सिनेमा ‘परदेशी २’ र गीत ‘बदला बरिलै’मा सहकार्य गरिसकेका छन् । यो गीत पनि दर्शकका लागि नयाँ स्वादको हुने दाबी गायक प्रकाशको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।