अनमोलको जन्मदिनमा ‘फर्की फर्की’ फर्स्टलुक रिलिज

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’ फर्स्टलुक रिलिज

द सिनेमा टाइम्स
294
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर आगामी जेष्ठ १० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘फर्की फर्की’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

सिनेमाको शनिबार सार्वजनिक पोस्टरमा उनलाई मात्र स्थान दिइएको छ । उनी दुई फरक अवस्थामा चित्रित छन् । एउटामा सोचमग्न देखिएका उनी अर्कोमा कतै हिँडिरहेका देखिन्छन् । पोस्टरमा प्रयोग केही बिम्बले उनको चरित्रबारे संकेत गर्छ ।

सामाजिक सञ्जालमा पोस्टर सेअर गर्दै अनमोलले ‘यो जादूको समय हो’ भनेर उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘सबैलाई यो देखाउनका लागि अब म प्रतिक्षा गर्न सक्दिनँ कि हामीले केमाथि काम गरिरहेका छौं ।’ यसले सिनेमाप्रति अनमोलको उत्साह बोल्छ । पोस्टर हेर्दा सिनेमा ‘टाइम ट्राभल’को कथामा बनेको हुनसक्ने देखिन्छ ।

सुयोग गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको लगानी रहेको छ । सिनेमामा अनमोलका अलवा जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमामा मनोज ओली र रामु न्यौपाने सह-निर्मातामा छन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता हुन् । निर्देशक गुरुङ स्वयंको कथा र पटकथा लेखन रहेको सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।