‘दान्भी’मा पूजाको इन्ट्री सिन, गीत र एक्सन खिचिँदै

‘दान्भी’मा पूजाको इन्ट्री सिन, गीत र एक्सन खिचिँदै

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लभस्टारी सिनेमामा रुचाइएकी अभिनेत्री पूजा शर्मा सिनेमा ‘दान्भी’मा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । करिब तीन महिना अगाडि सार्वजनिक भएको टिजरमा उनको एक्सन रुचाइएको थियो ।

आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमाको गत साउनदेखि विभिन्न चरणमा छायांकन भइरहेको छ । फागुन पहिलो साता भारतको कालिम्पोङमा एक्सन दृश्य खिचिएको थियो । त्यसपछि केही समय ‘ब्रेक’ लिएर शनिबारबाट काठमाडौंमा पूजाको इन्ट्री सिनको छायांकन भइरहेको छ ।

संसारकै महंगो बाइक मानिने हार्ले डेभिडसनमा उनको इन्ट्री सिन खिचिएको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा पूजा बाइकमा चढेर स्टाइलिस अन्दाजमा देखिएकी छन् । यसले उनको एक्सन मुड दर्शाउँछ । सिनेमाको इन्ट्री सिनमा गीत र एक्सनलाई मिश्रण गरिने निर्देशक रुपेश तामाङले बताए ।

अबको केही दिनमा गीतको भाग खिचिने उनको भनाई छ । सिनेमामा पूजाको जोडी कुन्साङ बोमजोमसँग बाँधिएको छ भने अभिनेता किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर र अनुप गडाल निर्माता तथा पवन राना मगर कार्यकारी निर्माता रहेको सिनेमामा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह-निर्मातामा छन् ।

श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमामा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा र संवाद लेखन, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछ ।