वैदेशिक रोजगारीले पारेको सामाजिक असरमा ‘द रेड सुट्केस’को ट्रेलर

वैदेशिक रोजगारीले पारेको सामाजिक असरमा ‘द रेड सुट्केस’को ट्रेलर

द सिनेमा टाइम्स
3k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वैदेशिक रोजगारीको कथामा आधारित सिनेमा ‘द रेड सुटकेस’को ट्रेलर रिलिज भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमाको २ मिनेट १३ सेकेण्ड लामो ट्रेलरले कथावस्तु र चरित्रको बारेमा चित्रण गर्छ । निर्देशक फिडेल देवकोटाले एउटा रातो सुटकेसमार्फत नेपाली समाजमा वैदेशिक रोजगारीको सामाजिक र मानवीय असरको कथा पेश गरेका छन् ।

विदेशबाट आएको रातो सुट्केसलाई कुनै गन्तव्यमा र्पुयाउन मुख्य पात्रले थालेको यात्रा सिनेमाको कथावस्तु हो । प्रवीण खतिवडाले सुटकेस लिएर हिंडेको पात्रको भूमिका निवार्ह गरेका छन् । सौगात मल्लले ड्राइभरको भूमिकामा देखिएका छन् । विपिन कार्की र सृष्टि श्रेष्ठले पनि सिनेमामा अभिनय गरेका छन् ।

आज मंगलबार आयोजित सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक देवकोटाले नेपाली माटो सुहाउँदो सिनेमा बनाउने प्रयास गरेको बताए । छायांकार सुसन प्रजापतिले दृश्य सुन्दर मात्र नभएर अर्थपूर्ण हुनुपर्छ भन्ने कुरा आफूले यो सिनेमा गर्दा सिकेको बताए ।

निर्माता रामकृष्ण पोखरेलले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय तहमा लैजान यस्ता सिनेमा बन्नुपर्छ भनेर आफ्नो प्रोडक्सन कम्पनी आइसफल लागि रहेको बताए । उनले यो सिनेमालाई नेपालमा बनेकोमध्ये एक दुर्लभ सिनेमा रहेको बताए । ‘थाहा छैन भविष्यमा कसैले यस्तो सिनेमा बनाउँछ कि बनाउँदैन तर यो दुर्लभ नेपाली सिनेमा हो,’ उनले भने ।

अभिनेता सौगात मल्लले यो सिनेमा हेर्दै आएको भन्दा भिन्न रहेको बताए । अभिनेता प्रवीण खतिवडाले सिनेमामा देखाइएको रातो सुटकेसले समाजको सपना र आशालाई दर्शाउने बताए । भेनिस र मुम्बईजस्ता चर्चित महोत्सवमा स्क्रिनिङ भइसकेको यो सिनेमा चैत ३० गतेबाट नेपाली हलमा रिलिज हुँदैछ ।

सिनेमालाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको सिनेमामा शोभा थापा, रामकृष्ण पोखरेल र निर्देशक देवकोटा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह-निर्माताको रुपमा रहेका छन् ।