बाबुरामले ‘महाजात्रा’ हेरेपछि भने-‘परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन्’

बाबुरामले ‘महाजात्रा’ हेरेपछि भने-‘परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन्’

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दोस्रो सातामा प्रदर्शनरत सिनेमा ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक बनेको बताए । मंगलबार बेलुका सिनेमा हेरेपछि उनले भने, ‘देशमा सुशासन, समृद्धिको कुरा गर्छौं तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई प्रस्तुत गरिएको छ ।’

राजनीतिज्ञले सत्यलाई स्वीकार्न सक्नुपर्ने उनले बताए । ‘परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । मैले सिनेमा हेरिरहँदा केही स्थानमा भावुक हुनुका साथै केही स्थानमा आँसु रोक्न सकिन । सिनेमा हेरेर आनन्द आयो ।’

यस्ता सिनेमाले कलाकर्मीको गरिमा बढाउने भन्दै उनले लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयन लगायतका पक्ष मनपरेको बताए । ‘यो सिनेमा आमदर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ । म सिनेमालाई १० मा ८ नम्बर दिन्छु । ढुक्क भएर सपरिवार सिनेमा हेर्न आउनुस्’ उनले भने ।

भट्टराईको प्रतिक्रिया लिन पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले सिनेमामार्फत दिएको सन्देशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताए । ‘हामीले सक्किने कि सच्चिने ? भन्ने प्रश्न सिनेमामा उठाएका छौं । यसपटक मनोरञ्जनसँगै सिनेमाकर्मीको दायित्व बहन गर्दै हामीले राष्ट्रिय विषयलाई उठान गरेका छौँ । देश र विदेशबाट आइरहेको प्रतिक्रियाले हामीलाई हौसला थपेको छ’, निर्देशक भट्टराईले भने ।

निर्माता म्याक्स दीपेश खत्रीले सिनेमाले नेपालसँगै विदेशमा समेत उत्साहजनक व्यापार गरिरहेको बताए । ‘यसले अहिले हामीलाई लाभ दिएता पनि विदेशमा नेपाली सिनेमाको बजार विस्तारका साथै बलियो बनाउन उल्लेख्य मद्दत पुगेको छ’ उनले भने ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल शाह लगायतले यो सिनेमा हेरेका छन् । यो सोसल-कमेडी सिनेमा चैत ९ गतेदेखि प्रदर्शनमा आएको हो । सिनेमामा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ ।

सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको सिनेमामा अभिनय छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।

जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।