‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक, प्रभावशाली भुमिकामा केकी

‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक, प्रभावशाली भुमिकामा केकी

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंका एक कार्यक्रमका बीच सार्वजनिक साढे २ मिनेट लामो सिनेमाको ट्रेलरले बोक्सीमा आरोप लगाइएकी एक महिला पात्रलाई पछ्याउँछ ।

जुन भुमिकामा अभिनेत्री केकी अधिकारी प्रस्तुत छिन् । ट्रेलरमा उनको चरित्रचित्रण प्रभावशाली देखिन्छ । उनको गेटअप र हाउभाउले डर पैदा गराउँछ । सिनेमाको कथा गाउँमा आधारित छ । बालविवाह भएकी एक युवतीलाई बोक्सीको आरोप लगाइन्छ । गाउँघरमा कोही विरामी हुँदा उसैमाथि प्रश्न उठ्छ । त्यो कथा लेख्न श्वेच्छा राउत गाउँ पुगेकी छन् ।

ट्रेलरमा पिपलको बोटलाई बिम्बको रुपमा प्रयोग गरिएको छ । पिपलको बोटप्रति विश्वास र अन्धविश्वास दुवै छ । यसैले हुनसक्छ, ट्रेलरमा केकीको पात्र पिपलको बोटमै बढी देखिएको छ । आगामी बैशाख १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । उनी स्वयंले सिनेमामा केकीको श्रीमानको भूमिकामा निवार्ह गरेका छन् ।

आइतबार राजधानीमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा केकी क्यारेक्टर लुक्समै उपस्थित थिइन् । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।