इटहरीमा ‘बलिदान’को सेट डिजाइनको काम सुरु

इटहरीमा ‘बलिदान’को सेट डिजाइनको काम सुरु

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा निर्देशक सन्तोष सेनको मेगा प्रोजेक्ट ‘बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ । सिनेमाका निर्देशक सेनले कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेशन खोज्नुपर्ने चुनौतीका बिच काम सुरु भएको बताए ।

नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग सिनेमाको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व बजारमा देखाउनु पर्ने भएकाले व्यापक तयारीको आवश्यक रहेको सेनले बताए । सो तयारीका लागि पूर्वी नेपालको इटहरीमा रहेको बिएमसी छायांकन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ । यो स्टुडियोको उद्घाटन नै ‘बलिदान’बाट हुँदैछ ।

‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दै छन् । समीर नेपाली सिनेमामा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू लिरहेका थिए ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो सिनेमा रहने निर्देशक सेनले बताए । यो सिनेमालाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।