क्यूएफएक्स चेनमा उचित शो नपाउने भएपछि ‘द रेड सुटकेस’ नलाग्ने

क्यूएफएक्स चेनमा उचित शो नपाउने भएपछि ‘द रेड सुटकेस’ नलाग्ने

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् चैत ३० गते नयाँ वर्षबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘द रेड सुटकेस’ देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा नलाग्ने भएको छ ।

निर्माण कम्पनी आइसफल प्रोडक्सन्सले आइतबार विज्ञप्ति जारी गर्दै क्यूएफएक्सले स्वदेशी र विदेशी सिनेमाको चापका कारण उचित शो दिन नसक्ने आसय व्यक्त गरेपछि क्यूएफएक्स बाहेकको हलमा मात्र सिनेमा रिलिज हुने जनाएको छ ।

निर्माता रामकृष्ण पोखरेलको विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा दर्शक तथा समीक्षकबाट सिनेमाले राम्रै तारिफ पाए पनि हाम्रो लागि घरेलु दर्शकको प्रतिक्रियाको बेग्लै अर्थ रहन्छ । यही कारण विदेशी वितरकको क्यालेन्डरसँग सामन्जस्यता मिलाउँदै हामीले चैत्र ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेका हौं । तर, देशको ठूलो सिनेमा चेन क्यूएफएक्सले ‘द रेड सुटकेस’लाई अन्य देशी-विदेशी सिनेमाको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुर्नविचार गर्न सकिने आसयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्यूएफएक्स चेनमा सिनेमाप्रदर्शन नगर्ने घोषणा गरेका छौं ।’

कलात्मक चेतमा निर्माण भएका सिनेमालाई व्यापार नगर्ने सिनेमाको लेबल लगाएर बारम्बार निरुत्साहित गर्ने काम भइरहेकोप्रति निर्माता पोखरेलले आपत्ति जनाएका छन् । चाडपर्व र विदाको समयमा यस्ता सिनेमालाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी हलले फरक धारका सिनेमा दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य निर्माण गरिरहेको उनको आरोप छ ।

‘हामी सिनेमा घरहरुको व्यापारिक सिद्धान्तको विरुद्धमा कदापि छैनौं । हामीले सिनेमा घरका सम्पूर्ण शो हामीले पाउनुपर्छ भन्ने आग्रह राखेर यस्तो निर्णय गरेका पनि हैनौं । हामी, हाम्रो सिनेमाको दर्शक सीमाको बारेमा पनि अवगत छौँ । तर कम्तिमा शुक्रबार हलमा सिनेमा नलागुञ्जेल, कुनै पनि सिनेमाको व्यापारको भविष्यवाणी नगरौँ भन्ने हाम्रो आग्रह हो । हामी सारमा सम्मानजनक व्यवहारको पक्षमा छौँ,’ सार्वजनिक विज्ञप्तीमा भनिएको छ ।

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रविन खतिवडा लगायतले मुख्य भुमिका अभिनय गरेका छन् । सिनेमामा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन रहेको छ ।

रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको सिनेमाको सह-निर्माता श्रीलंकाका विमुक्ति जयसुन्दरा हुन् । निर्माता पोखरेलले यसअघि ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ निर्माण गरेका थिए । यी दुवै सिनेमाले नेपालको तर्फवाट अस्कर अवार्डमा प्रतिनिधित्व गरेका थिए ।