‘ज्वाइँ साब’मा जीतुको जोडी बन्दै नीति शाह

‘ज्वाइँ साब’मा जीतुको जोडी बन्दै नीति शाह

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नीति शाहको डेब्यू सिनेमा ‘खजुरे ब्रो’ आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा आउँदै छ । तर, उनले यो सिनेमा प्रदर्शनमा नआउँदै एकपछि अर्को सिनेमा साइन गरिरहेकी छन् । यहीबीच उनले बसन्त निरौलाको निर्देशनमा निर्माण हुने सिनेमा ‘ज्वाइँ साब’मा अनुबन्धित भएकी छन् ।

सोमबार सिनेमाका निर्मातासँग उनको कागजी सम्झौता भएको हो । सिनेमामा नीतिको जोडी अभिनेता जितु नेपालसँग बाँधिनेछ । उनीहरुको ‘केमेस्ट्री’ रोचक हुने देखिन्छ । निर्देशक निरौलाले कथाको मागअनुसार सिनेमामा नीतिलाई लिएको बताउँछन् । सिनेमा सामाजिक तथा कमेडी कथामा निर्माण हुनेछ ।

राज कुमार पण्डितको निर्माण रहने सिनेमामा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्माताको रुपमा छन् । सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् । सिनेमामा सविन अधिकारीको कथा छ भने शंकर धितालको पटकथा तथा संवाद लेखन छ । आगामी बैशाख १५ गतेबाट छायांकन सुरु गरेर आउँदो वर्षको तिहारमा सिनेमालाई प्रदर्शन गर्ने तयारी गरिएको छ ।

नीति अभिनित पहिलो सिनेमा नै सार्वजनिक प्रदर्शनमा नआइसकेकाले उनको कामको मुल्यांकन हुन बाँकी छ । तर, उनलाई लिएर सिनेमा बनाउन मेकरहरुबीच भने प्रतिस्पर्धा नै चलिरहेको देख्न सकिन्छ । गत महिना उनले सिनेमा ‘रुखान’ सम्झौता गरिन् । निर्देशक दीवाकर भट्टराईको नयाँ सिनेमामा पनि उनले काम गर्ने चर्चा छ ।