फ्राइडे रिलिज : हलमा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’

फ्राइडे रिलिज : हलमा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार नेपाली वक्सअफिसमा दुई नेपाली सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’ तथा ‘द रेड सुटकेस’ रिलिज भएका छन् । यो साता नेपाली वक्सअफिसमा कुनै पनि विदेशी सिनेमामा रिलिज भएका छैनन् ।

यसअघि कुनै न कुनै हिन्दी वा हलिउड सिनेमा वा दुबै सिनेमा रिलिज हुने गरेकोमा यो साता ‘बडे मियाँ छोटे मियाँ’ जस्ता ठूला स्टार अभिनित सिनेमा हुँदाहुँदै पनि वितरक यो सिनेमा नेपाल ल्याउन इच्छा नदेखाएकाले नेपाली सिनेमामा मात्र रिलिज भएका हुन् ।

हलमा ‘महाजात्रा’को सुखद् व्यापार जारी रहेको र ‘डिग्री माइला’ले बनाएको हाइपका कारण वितरकहरु महँगो रकम तिरेर ‘बडे मियाँ छोटे मियाँ’ ल्याउन अन्तिम समयमा अनिच्छुक देखिए । यध्यपी उनीहरुले नेपाल रिलिज गर्ने भनेर सिनेमाको ट्रेलरहरु हलमा भने बजाउँदै आएका थिए ।

आज रिलिज भएका दुईमध्ये दयाहाङ राई तथा आँचल शर्मा स्टारर ‘डिग्री माइला’ले डिग्री हासिल गरेको एक घमण्डी शैक्षिक बेरोजगारको कथा पेस गर्छ । ट्रेलर रिलिज भए यता दयाको ‘डिग्री माइला’ चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ ।

वर्षको सुरुवातमा ‘जारी’ले ल्याएको व्यापारिक उछाललाई ‘डिग्री माइला’ले पनि सुखद् अन्त्य दिने रुझान देखाएको छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् ।

सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

यस्तै, प्रतिष्ठित भेनिस फिल्म महोत्सवमा अवार्ड जितेको ‘द रेड सुटकेस’ले वैदेशिक रोजगार र त्यसका कारण आम नेपाली परिवारमा पर्ने र उनीहरु भोग्ने कथा पेस गरेको छ । फिडेल देवकोटा निर्देशित सिनेमामा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा तथा श्रृष्टि श्रेष्ठको प्रमुख अभिनय रहेको छ ।

यो सिनेमा क्यूएफएक्स च्यानल बाहेकका हलहरुमा मात्र प्रदर्शन हुनेछ । यस्तै ‘महाजात्रा’ आफ्नो रिलिजको चौथो सातामा प्रवेश गरेको छ ।