‘डिग्री माइला’को भव्य प्रिमियर, मिल्यो उत्कृष्ट प्रतिक्रिया

‘डिग्री माइला’को भव्य प्रिमियर, मिल्यो उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
861
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ले बिहीबार बिग मुभिजमा भएको प्रिमियरमा प्रशंसा बटुलेको छ । दयाहाङ राई तथा आँचल शर्माले पहिलोपटक सँगै काम गरेको सिनेमाले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीचको घर्षणको कथा पेस गर्छ।

भव्यरुपमा आयोजित सिनेमाको प्रिमियर हेर्न नेपाली सिनेकर्मी, कलाकार, पत्रकार तथा नेता बिग मुभीज पुगेका थिए। प्रिमियरमा बिग मुभिजका तीनवटै हल भरिभराउ थिए । हलभित्र ज्यादा भीड नहोस् भने निर्माणपक्षले सिनेमा प्रिमियरको औपचारिक समारोह बाहिर रहेको फुड कोटमा गरेको थियो।

सिनेमालाई लिएर ‘डिग्री माइला’ युनिट त उत्साहित छँदै थिए, प्रिमियरमा पुगेका निम्तालुहरुमा पनि सिनेमालाई लिएर कम उत्सुक्ता थिएन । उनीहरु सबै सिनेमा हेर्न उत्साहित देखिन्थे । सिनेमा हेरेपछि ‘जारी’मा दयाहाङको जोडी बनेकी अभिनेत्री मिरुना मगरले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिइन्।

‘एकदमै राम्रो लाग्यो मलाई। सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाहरुले सामना गरिरहनुपरेको कुरा जुन देखाइएको छ, त्यसले एकदमै मन छोयो’, उनले भनिन् । उनले अभिनेत्री आँचल शर्माको प्रशंसा गरिन् ।

‘आँचलजीको काम एकदमै रिफाइन लाग्यो । पूरा टिम हेर्दा आफ्नै लाग्यो तर आफूलाई मिसचाँहि गरिन’, उनले थपिन् । मिरुनासँगै फ्रेममा रहेकी अभिनेत्री लुनिभा तुलाधरले ‘डिग्री माइला’ टोलीका लागि सम्मान व्यक्त गरिन् । उनले हसाउँन माहिर भन्दै निर्देशक रामबाबु गुरुङको प्रशंसा गरिन्।

‘उहाँले राम्रोराम्रो कलाकारहरुलाई व्यवस्थापन गरेर एक ठाउँ राखेर निर्देशन गर्नुहुन्छ। उहाँसँग त्यो कला छ। एउटा निर्देशक राम्रो व्यवस्थापक हुनुपर्छ। यसका लागि मैले सम्मान गर्नैपर्छ’, उनले भनिन् । उनले नयाँ वर्षमा हेर्नलायक सिनेमामा भएको जनाउँदै सिनेमामा दर्शकहरुले आफूलाई जोड्नसक्ने बताइन्।

यसैगरी ‘लुट’ अभिनेत्री श्रृजना सुब्बाले सिनेमाको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबलौं जस्तो लागेको बताइन् । ‘एकदमै मन कस्तो भारी भइराख्यो । रामबाबुको राम्रो पक्षचाँहि एकदमै गहन कुराहरुलाई रमाइलो तरिकाले प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउने तरिका एकदमै राम्रो छ । कबड्डीमा जुनप्रकारको थियो, त्यो हिट पनि भयो । योचाँहि मलाई झन् एकदमै मनपर्‍यो । उहाँ काममा बढोत्तरी भइरहेको पाएं’, उनले भनिन् ।
यस्तै उनले दयाको काम र भूमिकाको तारिफ गरिन् ।

‘म दयालाई यस्तै क्यारेक्टरमा हेर्न चाहन्थे। उसको यस्तो पात्रहरु भइदियोस जस्तो लाग्थ्यो। अरु सबैको काम मनपर्‍यो । मलाई एकछिन नबोलुँम नबोलूँम जस्तो बनायो ।’ यसैगरी सिनेमाका शीर्ष पात्र दयाहाङ पनि सिनेमासँग खुशी देखिए । उनले पूरै सिनेमा आफूले पनि पहिलोपटक हेरेको बताउँदै सबै कलाकारको अभिनय मनपरेको भने ।

‘मैले आफूलाई एकदमै इमानदार भएर हेर्ने कोशिस गरें । हामीले जो मेहेनत गर्‍या छटं, त्योचाँहि छर्लगै देखिन्छ’, उनले भने । दयाले ‘डिग्री माइला’को कथा ‘कबड्डी’ सिरिजभन्दा धेरै अगाडिको योजना भएको स्मरण गर्दै ‘कबड्डी’को प्रभावबाट निर्देशक रामबाबु पर रहेको र कथा वाचन फरक भएको बताए ।

अभिनेत्री आँचलले आफूलाई सिनेमा मनपरेको बताइन् । दयाले अभिनेत्रीका हिसाबले आँचलको तारिफ गरें । ‘मचाँहि खुशी छु, पहिलोपटक स्क्रिन साझा गरिरहँदाचाँहि मैले उसको अभिनयमा परिपक्वता छर्लगैं देखिन्छ’, दयाले भने ।

यसैगरी संगीतकार चेतन सापकोटाले फिल्म हेरिरहँदा मनोरञ्जन लिएको भन्दै प्रशंसा गरे भने वरिष्ठ अभिनेता शिव श्रेष्ठले राम्रो सिनेमा बनेको भन्दै तारिफ गरे । अभिनेता मुकुन भुसालले पनि राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए भने उनको छवैमा रहेका संचारकर्मी दिनेश डिसीले सिनेमामा राबबाबु गुरुङ तथा दयाहाङको ब्राण्ड देखिएको बताउँदै सिनेमाको कन्टेन्ट शिक्षाप्रद रहेको धारणा राखे ।

यस्तै एमाले नेता एवम् संघीय सासंद रघुजी पन्तले समंग्रमा सिनेमामा मनोरञ्जक रहेको र सिनेमाले सन्देश पनि बोकेकाले आफूलाई मनपरेको बताए । ‘शैक्षिक संस्थाहरुमा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रीरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ । टिपिकल रामबाबुको फिल्म हो । उनको स्टाइल हो’, उनले भने ।

यसैगरी उनले डिग्री माइलाहरु देशमा धेरै भएको भन्दै उनीहरुलाई देश छोडेर नजानसमेत आग्रह गरे । यसैगरी उनीहरुका अलावा प्रिमियरमा अभिनेत्री प्रियंका कार्की आफ्ना अभिनेता पति आयुष्मान देशराज श्रेष्ठ र आमासँग पुगेकी थिइन् ।

उनका अलावा निर्मात्री निर्देशक एवं कलाकार दीपाश्री निरौला, अभीनेता निर्मल शर्मा, कर्मा, नरेन खड्का, हास्य कलाकार विल्सन विक्रम राई लगायतका थिए । उनीहरु सबैले सिनेमाको विषयवस्तु र कलाकार मनपरेको प्रतिक्रिया दिएका थिए ।

सिनेमामा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।