‘खजुरे ब्रो’को टिजर सार्वजनिक

‘खजुरे ब्रो’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको सुरज सुनुवारद्वारा निर्देशित सिनेमा ‘खजुरे ब्रो’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ३८ सेकेण्ड लम्बाईको टिजरले मनमौजी जीवन बाँचिरहेको खजुरे पात्र (रेयर राई)लाई पछ्याएको छ । उसको प्रेम, मित्रता र संघर्षलाई टिजरमा रोचक शैलीमा देखाइएको छ । अभिनेत्री नीति शाहलाई रेयरको ‘लभ इन्ट्रेस्ट’को भूमिकामा देख्न सकिन्छ ।

यो सिनेमा धरानमा कुनै बेला चर्चित मानिएका खजुरे पात्रबाट प्रभावित भएर बनेको हो । यी पात्रको मृत्यु भइसकेको छ । युट्युबमा उनका केही भिडियोहरु भने भेटिन्छन् । उनको बोल्ने शैली पृथक थियो । मृत्युअघि धरानमा मानिसहरुका लागि मनोरञ्जनको पात्र बनेका उनी त्यो स्थितिमा आइपुग्नुका पछाडि दुखान्त कहानी रहेको बताइन्छ । सिनेमाले यही पात्रको जीवन संघर्षलाई देखाउनेछ ।

सिनेमामा रेयर र नीतिका अलवा महेश त्रिपाठी, नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा लगायतको पनि अभिनय छ । नविन मानन्धर र निर्देशक सुनुवारको निर्माण रहेको सिनेमामा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता छन् ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको कार्यकारी निर्माता डायमण्ड उप्रेती र छायांकन शिशिर बिसंखेको रहेको छ ।