‘एक मुठ्ठी बादल’को छायांकन २२ दिनमा प्याकअप

‘एक मुठ्ठी बादल’को छायांकन २२ दिनमा प्याकअप

द सिनेमा टाइम्स
273
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री आँचल शर्माले पहिलोपटक फरक धारको सिनेमा ‘एक मुठ्ठी बादल’मा काम गरेकी छन् । यही हप्ता उनले सिनेमाको सम्पूर्ण छायांकन सकेकी हुन् । कास्कीको लामाचौर क्षेत्रमा २२ दिन लामो छायांकनपछि सिनेमा ‘प्याकअप’ भएको हो । सिनेमाको महत्त्वपूर्ण विधामा बहुसंख्यक महिला छन् ।

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा १० प्रतिशतभन्दा कम महिलाहरुले सिनेमा निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको थियो । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले सिनेमाको मुख्य विधाहरुमा महिलालाई चयन गरेको हो । सहारा शर्माले सिनेमाको लेखन तथा निर्देशन गरेकी हुन् ।

सिनेमालाई भियतनामकी लिन ड्यानले खिचेकी हुन् । उनको यो तेस्रो फिचर सिनेमा हो भने ‘एक मुठ्ठी बादल’ पहिलो नेपाली सिनेमा हो । यसैगरी, प्रोडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड र प्रमुख सहायक निर्देशकमा मर्णा जेम्स रहेका छन् । सिनेमामा कीर्ति जोशीले मेकअप तथा जानकी कडायतले पोशाक विभागको जिम्मेवारी सम्हालेकी थिइन् ।

निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेको सिनेमामा अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाको लगानी रहेको छ । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको सिनेमामा आँचलका अलवा निशा शर्मा, अस्मिता गौतम, उषा रजक, भीमा मैनाली, शेखर चापागाई, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी लगायतले पनि अभिनय गरेका छन् ।

निर्देशक शर्माले सिनेमाको निर्माण अप्ठेरो र चुनौतीपूर्ण रहेको भएपनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताइन् । सिनेमा खिच्न भनेर भियतनामबाट काठमाडौं आएकी ड्यानले खराब मौसम र भाषाको समस्याका बीच पनि नेपालको लाइटिङ र क्यामरा क्रुको परिश्रमले सुटिङ भनेकै समयमा सकिएकोमा खुसी व्यक्त गरिन् ।