‘डिग्री माइला’को दुई दिनमा तीन करोड ६ लाख कलेक्सन

‘डिग्री माइला’को दुई दिनमा तीन करोड ६ लाख कलेक्सन

द सिनेमा टाइम्स
3k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला’ले आक्रामक व्यापार गरेको छ । यो सिनेमाले दुई दिनमा तीन करोड ६ लाख ग्रस कलेक्सन गरेको हो ।

पहिलो दिन शुक्रबार ९८ लाख र दोस्रो दिन शनिबार २ करोड ८ लाख ग्रस कलेक्सन गरेको वितरक गोबिन्द शाहीले जानकारी दिए । सिनेमाको तेस्रो दिन आइतबार पनि हलमा उच्च अकुपेन्सी रहेको छ ।

‘आज आइतबार पनि हलमा दर्शकको अकुपेन्सी उच्च रहेको छ । दर्शकको माया सिनेमाले पाइरहेको छ’, निर्माता मणिराम पोखरेलले भने, ‘शो र वर्ड अफ माउथ दुवै राम्रो भएकाले व्यापार राम्रो भइरहेको छ ।’

टिजर र ट्रेलर दुवैले राम्रो प्रतिक्रिया पाएपछि सिनेमाले राम्रो हाइप बनाएको थियो । दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा रहेको सिनेमामा बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

निर्देशक गुरुङकै लेखन रहेको सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।