चर्चामा केकीको ‘बोक्सीको घर’ ट्रेलर

चर्चामा केकीको ‘बोक्सीको घर’ ट्रेलर

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी वैशाख १४ गतेबाट रिलिज हुने सिनेमा ‘बोक्सीको घर’को ट्रेलर यतिबेला चर्चामा छ । ट्रेलरमा सिनेमाकी अभिनेत्री केकी अधिकारीको अभिनयलाई सिनेमाकर्मीसँगै दर्शकले रुचाएका छन् ।

दरबारमार्गमा रहेको एलओडीमा नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा नयाँवर्ष मनाउन उपस्थित दर्शकमाझ पनि सिनेमाको ट्रेलर देखाइएको छ । ट्रेलर सार्वजनिक भइरहँदा उपस्थित व्यक्तिहरुले तालीले ट्रेलरको तारिफ गरेका थिए । उक्त कार्यक्रममा सिनेमाकी निर्मात्रीसमेत रहेकी केकीसहित निर्माण टिमको उपस्थिति थियो ।

‘ट्रेलर सार्वजनिक भइरहँदा उहाँहरुले ट्रेलर मनपराइदिनुभयो । मेरो अभिनयसँगै ट्रेलर मेकिङ, अन्य कलाकारको काम र त्यसमा प्रयोग गरिएको ध्वनिको तारिफ गरेको पाएँ’, उनले भनिन्, ‘हामीले सिनेमाको प्रचारका लागि फरक किसिमको मार्केटिङ गरिरहेका छौं । त्यही मार्केटिङको योजना अनुरुप एलओडीमा ट्रेलर देखाएका हौं ।’

सिनेमाको टिजर, ट्रेलर र पोस्टरले चर्चा पाइरहँदा केही समयअघि सार्वजनिक ‘बुझिन मैले’ गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । गत वर्षको होलीमा सार्वजनिक अभिनेत्री केकीको ‘बोक्सी’ लुक्सले पनि उत्तिकै चर्चा पाएको छ ।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।