‘दिमाग खराब’देखि ‘सतीदेवी’सम्म तेस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा देखाइने

‘दिमाग खराब’देखि ‘सतीदेवी’सम्म तेस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा देखाइने

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को तेस्रो संस्करण आयोजना हुँदैछ । ग्रामीण क्षेत्रमा नेपाली सिनेमाको प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको महोत्सव लागि छानिएका सिनेमाको ‘लाइनअप’ सार्वजनिक गरिएको छ ।

सोमबार काठमाडौंमा ‘प्रि-इभेन्ट’ आयोजना गर्दै महोत्सवमा कूल २० वटा सिनेमा छनोट भएको जानकारी दिइयो । फिचर सिनेमातर्फ निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’, दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’, लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ र सत्यराज चौलागाईँ निर्देशित ‘बिच्छेद’ गरी ४ सिनेमा छनोट भएका छन् ।

यस्तै, छोटा सिनेमातर्फ ९, डकुमेन्टतर्फ ४ र भाषिक सिनेमातर्फ ४ वटा छन् । यी सिनेमाहरु महोत्सवमा प्रदर्शनपछि जुरीको निर्णयको आधारमा उत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने जनाइएको छ । सोमबार उद्योग मन्त्री दामोदर भण्डारीले महोत्सवमा छनोट भएका सिनेमाको टिमलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

मन्त्री भण्डारीले सिनेमा क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै यसलाई उद्योगको रुपमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको समेत बताए । महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले मौलिक कथामा बनेका सिनेमालाई मात्र महोत्सवमा समेटिएको बताए ।

यो महोत्सवमा सिनेमा प्रदर्शनका साथै विभिन्न विषयमा अन्तरक्रिया तथा कार्यशाला पनि आयोजना हुने जनाइएको छ । तेस्रो संस्करण रामेछाप नगरपालिकास्थित गौरिशंकर विद्यालयमा हुने महोत्सव अध्यक्ष सापकोटा बताउँछन् । यो महोत्सवको पहिलो संस्करण गोरखास्थित लाप्राकमा भएको थियो भने काभ्रे जिल्लाको भकुण्डेबेसीमा दोस्रो संस्करण आयोजना गरिएको थियो ।