केकीले सेलिब्रेटीलाई पठाइन् ‘बोक्सीको घर’ अंकित केक र कथासार बुझाउने पत्र

केकीले सेलिब्रेटीलाई पठाइन् ‘बोक्सीको घर’ अंकित केक र कथासार बुझाउने पत्र

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गीत संगीत र टिजर ट्रेलरले चर्चामा रहेको केकी अधिाकारी मुख्य भुमिका रहेको सिनेमा ‘बोक्सीको घर’ले प्रचारमा नयाँ शैली अपनाएको छ । आगामी बैशाख १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको प्रचार विशेषगरी सेलिब्रेटी लक्षित छ ।

निर्माण टिमले कलाकार तथा मेकरहरुलाई सिनेमाको नाम अंकित केक नयाँ वर्ष २०८१ को उपहारस्वरुप पठाइरहेको छ । साथमा सिनेमाको प्रदर्शन मिति र कथासार बुझाउने एउटा पत्र पनि राखिएको छ । यो सिनेमाले बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने उत्पीडनको कथा उठाएको छ ।

सिनेमाको निर्माण टिमले अहिलेसम्म अभिनेत्रीहरु स्वस्तिमा खड्का, वर्षा राउत, वर्षा सिवाकोटी, बेनिशा हमाल, सरिता गिरी, सिनेमा ‘महाजात्रा’ टिम लगायतलाई केक पठाइएको छ । यो केकको तस्वीर अधिकांशले आ-आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै सिनेमालाई सफलताको शुभकामना दिएका छन् ।

यसले सिनेमाको राम्रो प्रचार भएको छ । किनभने, उनीहरुको सामाजिक सञ्जालमा जोडिएका दर्शकमाझ सिनेमाको जानकारी पुगेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमामा केकी अधिकारी, रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला लगायतले अभिनय गरेका छ ।

अहिले सिनेमामा समावेश ‘बुझिनँ मैले’ बोलको गीत चर्चामा छ । यो गीतले सिनेमाको हाइप निर्माणमा ठूलो सहयोग पुगेको छ । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।