‘होस्टेल’को तेस्रो श्रंखला निर्माण घोषणा

‘होस्टेल’को तेस्रो श्रंखला निर्माण घोषणा

द सिनेमा टाइम्स
378
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सफल सिनेमा ‘होस्टेल’को तेस्रो श्रंखला निर्माण हुने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । यो सिनेमाका दुई श्रंखला बक्सअफिसमा हिट भैसकेका छन् ।

यो सिनेमाको पहिलो श्रंखलाबाट अभिनेता अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी, रिस्ता बस्नेत र प्रकृति श्रेष्ठले डेव्यु गरेका थिए । भने दोस्रो श्रंखला होस्टेल रिन्टर्सबाट सुशिल श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशिल सिटौलाले डेव्यु गरेका थिए । यी सवै कलाकारले अहिले नेपाली सिनेमामा अलग छाप छोड्न सफल भएका छन् ।

अब निर्माण टिमले ‘होस्टेल ३’ मा पनि नयाँ कलाकारलाई लिएर निर्माणको तयारी गरेको छ । यो सिनेमाबाट आउने कलाकारले पनि आफ्नो अगल पहिचान बनाउने विश्वास निर्माण टिमलाई छ । चाँडै एक पत्रकार सम्मेलनको आयोजन गर्दै कास्ट एण्ड क्रिउ चिनाउने तयारीमा निर्माण टिम छ ।

‘होस्टेल’को अघिल्ला दुई श्रृंखला निर्माण गरेका सुनिल रावल तेस्रो श्रृंखलामा भने कलाकारको रुपमा मात्र रहनेछन् । उनले सम्मान इन्टरटेन्मेन्टलाई सिनेमा निर्माणको सम्पूणर् अधिकार दिएका छन् । सिनेमाको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्मातामा शंकर कोइराला तथा सह-निर्मातामा सुरेश कँडेल, सुधा मरहट्ठा र अर्जुन सापकोटा छन् । सिनेमाको छायांकन र प्रदर्शन यही वर्षभित्र गर्ने तयारी निर्माण टिमको छ ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनएजर र उनीहरुको भविष्यको कथामा सिनेमा बन्ने निर्देशक सशान कँडेलले बताए । यो सिनेमा निर्देशक कँडेलको डेव्यु निर्देशकिय सिनेमा हो । उनले यसअघि केही म्युजिक भिडियोको निर्माण तथा निर्देशन गरिसकेका छन् । म्युजिक भिडियो निर्देशन र निर्माणबाट सिकेको ज्ञान सिनेमामा प्रयोग गर्ने निर्देशक कँडेल बताउँछन् । सिनेमालाई अघिल्ला दुई श्रंखलाभन्दा उत्कृष्ट बनाउने दाबी उनको छ ।

माधव शर्माको पटकथा लेखन रहेको सिनेमामा निर्देशक कँडेल स्वयंको कथा छ । स्क्रिप्ट लेखनमा मात्र डेढ वर्ष लागेको पटकथा लेखक माधवको भनाई छ । यम प्रसाद ओलीको प्रोडक्सन डिजाइन रहने जनाइएको छ ।