दीपकराज गिरीले भने- अनमोल केसी फर्किए, रिच लाग्यो ट्रेलर

दीपकराज गिरीले भने- अनमोल केसी फर्किए, रिच लाग्यो ट्रेलर

द सिनेमा टाइम्स
406
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले अभिनेता अनमोल केसी अभिनयमा फर्किएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा अनमोल अभिनीत सिनेमा ‘फर्की फर्की’को ट्रेलर सेयर गर्दै दीपकले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले ट्रेलर राम्रो रहेको पनि बताएका छन् ।

अनमोल मुख्य भूमिकामा रहेको सिनेमा ‘फर्की फर्की’को ट्रेलर आज सार्वजनिक भएको छ । दीपक लेख्छन्, ‘अनमोल फर्किएका छन्, फर्की फर्कीमा । रिच लाग्यो ट्रेलर ।’

ट्रेलर सेयर गर्दै दीपकराज पुनः लेख्छन्, ‘जेठ १० मा भिडन्त होइन राम्रा सिनेमा हेर्न पाइने दिन भनेर बुझौँ अब ।’

गत वर्ष फागुन १९ यता अनमोलका सिनेमा रिलिज भएका छैनन् । उक्त मितिमा अनमोल मुख्य भूमिकामा रहेको सिनेमा ‘छड्के-२’ सार्वजनिक भएको थियो । त्यही दिन दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा ‘छक्का पञ्जा-४’ रिलिज भएको थियो । त्यसयता दीपकको टिमको पनि सिनेमा आएको छैन । एकै दिन दुईवटा प्रतिक्षित सिनेमा आउँदा दीपक र अनमोललले एकअर्कालाई सिनेमा सफलताको शुभकामना दिएका थिए ।

रोहित अधिकारी निर्माता रहेको सिनेमा ‘फर्की फर्की’ सुयोग गुरुङले निर्देशन गरेका छन् ।

जेठ १० मा ‘फर्की फर्की’सँगै पूजा शर्माको ‘दान्वी’, प्रदीप खड्का, आर्यन सिक्देल र पल शाह मुख्य भूमिकामा रहेको सिनेमा ‘पुजार सार्की’ रिलिज हुँदैछन् । एकै दिन तीनवटा सिनेमा रिलिज हुन लागेका हुन् ।