‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

द सिनेमा टाइम्स
399
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । यसअघि ‘प्रोजेक्ट सारङ्गी’ नाम दिइएको सिनेमाको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै टाइटल घोषणा गरिएको हो । बाबु-छोराबीचको सम्बन्धको कथामा सिनेमा निर्माण हुन लागेको पोस्टरले बुझाउँछ ।

सिनेमाको सार्वजनिक स्केच पोस्टरमा एक पुरुष पात्र काँधमा सारङ्गी र बच्चा बोकेर हिँडीरहेको देखिएका छन् । नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने सिनेमाको मोसन पोस्टरको पृष्ठभूमिमा सारङ्गीको धुन गुञ्जिएको छ ।

अनि काँधमा चढेको बच्चाले बाउलाई सोध्छ – ‘तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौ ?’ बाउले खुइँ काढ्दै जवाफ दिन्छ – ‘मभन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर ।’ त्यसपछि सारङ्गीको धुनमा गीत गुञ्जिन्छ । छोराका लागि बाबुले जस्तासुकै चुनौतीको सामना गर्न सक्ने भाव बोकेको गीत मर्मस्पर्शी लाग्छ ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा बन्न लागेको सिनेमाले ग्रामीण परिवेशको कथा भन्ने पोस्टर बुुझाउँछ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् । सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।