‘महाजात्रा’ले नेपाल र विदेशबाट कमायो २६ करोड ६५ लाख ग्रस

‘महाजात्रा’ले नेपाल र विदेशबाट कमायो २६ करोड ६५ लाख ग्रस

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप भट्टराई निर्देशित सिनेमा ‘महाजात्रा’ले नेपाल र विदेशमा बम्पर व्यापार गरेको छ । गत चैत ९ गतेदेखि प्रदर्शनमा आएको सिनेमाले चार हप्तामा नेपालभित्र मात्र करिब १६ करोडको व्यापार गरेको निर्माण कम्पनी षट्कोण आट्र्स बताएको छ ।

शुक्रबार सार्वजनिक एक पोस्टरमा सिनेमाको चार हप्ताको कमाई १५ करोड ९० लाख उल्लेख गरिएको छ । देशबाहिरको अंक १० करोड ७५ लाख छ । निर्माण कम्पनीका अनुसार, देश र देशबाहिर गरी सिनेमाको व्यापार २६ करोड ६५ लाख पुगेको छ ।

विदेशको कमाईमा मध्यपूर्वी, अष्ट्रेलिया र अमेरिकाको ठूलो योगदान छ । अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ले अघिल्लो श्रृंखला ‘जात्रै जात्रा’को कमाईलाई समेत उछिनिसकेको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ‘ब्रान्ड भ्यालू’का कारण सिनेमाले नेपाल र विदेशमा राम्रो व्यापार गरेको हो ।

नेपालमा ‘महाजात्रा’ले अघिल्लो वर्षको सर्वाधिक सफल सिनेमा ‘जारी’को रेकर्ड पछ्याइरहेको छ । यसले १७ करोड १७ लाखमाथि व्यापार गरेको तथ्यांक छ । ‘महाजात्रा’लाई यो रेकर्ड तोड्न अब डेढ करोडको हाराहारी व्यापार आवश्यक छ । शुक्रबारबाट पाँचौं हप्तामा प्रदर्शन सुरु गरेको सिनेमालाई अझै पनि देशभरका मल्टीप्लेक्सहरुले सुखद् शोज उपलब्ध गराएका छन् ।

‘महाजात्रा’ले व्यावसायिक सफलता हासिल गर्नुमा तीनवटा पक्ष महत्त्वपूर्ण मान्न सकिन्छ । पहिलो, यो सफल सिनेमाको श्रृंखला हो । यसले आफ्नै दर्शक बनाएको छ । दोस्रो, ‘वर्ड अफ माउथ’को प्रभाव । समीक्षा कमजोर प्राप्त भएपनि मध्यान्तरअघिको कमेडीले दर्शक राम्रैसित रिझायो । नाम चलेका कलाकारहरुको जत्था हुँदा व्यापारमा ठूलो फाइदा पुगेको छ ।

सिनेमामा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।