सेन्सर बोर्डबाट ‘बोक्सीको घर’ले पायो युनिभर्सल सर्टिफिकेट

सेन्सर बोर्डबाट ‘बोक्सीको घर’ले पायो युनिभर्सल सर्टिफिकेट

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी वैशाख १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बोक्सीको घर’ले केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ । सिनेमाले सबै उमेरका दर्शकले हेर्न मिल्ने सर्टिफिकेट पाएको हो ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको सिनेमामा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा लगायतको अभिनय छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ ।

सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ ।

लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।