५१ दिनमा ‘मेयर’को छायांकन इन्डक्ल्याप

५१ दिनमा ‘मेयर’को छायांकन इन्डक्ल्याप

निर्देशक खनाल भन्छन्- पहिलोपटक दर्शकले राजनीतिक सिनेमाको फिल गर्न पाउनेछन्

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘मेयर’को छायांकन इन्डक्ल्याप भएको छ । ५१ दिनमा शुक्रबार सिनेमाको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।

काठमाडौंको मल्ल होटेलबाट सुरु भएको सिनेमाको छायांकन सर्लाही र सिन्धुलीमा पनि भएको थियो । तर अधिकांश सिन सर्लाहीमै भएको हो ।

अपेक्षा गरेभन्दा पनि ठूलो क्राउडमा सिनेमाको छायांकन गरेको निर्देशक खनालले बताएका छन् । एउटै सिन ११ हजारभन्दा धेरै क्राउड जम्मा गरेर छायांकन भएको उनले बताए ।

निर्देशक खनालले भने, ‘राजनीतिक विषयको सिनेमामा यति धेरै क्राउड नेपाली सिनेमामा पहिलो पटक देखिनेछ । नगरपालिका र स्थानीयको सहयोगमा यो सम्भव भएको हो । यसले सिनेमाको प्रोडक्सनलाई रिच बनाएको छ । यसको सकारात्मक प्रभाव सिनेमामा देखिनेछ । यसले सिनेमालाई विश्वस्नीय बनाउनेछ ।’ दर्शकले नेपाली सिनेमामा पहिलो पटक राजनीतिक सिनेमाको फिल गर्न पाउने निर्देशक खनालको भनाई छ ।

सिनेमाको  मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय छ ।

यो सिनेमाबाट निर्माताको रूपमा श्रृष्टिमाँ खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यू गरेका छन् ।

सिनेमा ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको छ ।

सिनेमको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल हुन् । पटकथा महेश दवाडीले लेखेका छन् ।