नेरुफमा लक्ष्मणको ‘सतीदेवी’ उत्कृष्ट, सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनि

नेरुफमा लक्ष्मणको ‘सतीदेवी’ उत्कृष्ट, सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनि

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तेस्रो संस्करणको नेपाल ग्रामीण सिनेमा महोत्सव (नेरुफ) सम्पन्न भएको छ । बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजना भएको महोत्सवमा विभिन्न विद्यामा छनोट भएका सिनेमा प्रदर्शनपछि १६ विधामा अवार्ड प्रदान गरिएको हो ।

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ले उत्कृष्ट सिनेमासहित पटकथा र अभिनेत्री (जुरी मेन्सन अवार्ड) गरी तीन विधामा अवार्ड जितेको छ । उत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’बाट निश्चल बस्नेतले प्राप्त गर्दा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भए ।

यसैगरी, ‘नाङ्गो गाउँ’ले उत्कृष्ट सम्पादन (बनिश शाह) र ‘दिमाग खराब’ले उत्कृष्ट कलरिस्ट (राजेन्द्र मोक्तान)को अवार्ड जित्दा ‘विच्छेद’ले जुरी मेन्सन अवार्डसहित उत्कृष्ट छायाँकार (संकल्प भुजेल)को अवार्ड प्राप्त गर्‍यो । सिनेमा आर्ट्सलाई भने उत्कृष्ट सिनेमा निर्माण कम्पनीको अवार्ड प्रदान गरियो ।

त्यस्तै, छोटो सिनेमाको विधामा परिच्छेद सेन निर्देशित ‘मदर’, भाषिक सिनेमातर्फ बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’, म्यूजिकल छोटो सिनेमातर्फ ‘अन्तै माया’बाट रणधीर श्रेष्ठ, छोटो सिनेमातर्फ जुरी मेन्सन अवार्ड ‘रित्तो गाउँ’बाट रामजी ज्ञवाली र डकुमेन्ट्रीतर्फ ‘द आइरन डिगर’बाट निर्देशक अनिल बुढा मगरले अवार्ड जितेका छन् ।

महोत्सव अवधिभर २ हजारभन्दा बढी स्थानियको सहभागिता रहेको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए । सेलिब्रेटी नेपालको आयोजना भएको महोत्सवमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहाल, अभिनेता मुकुन भुसाल, निर्देशक तथा लेखक लक्ष्मण सुवेदी, निर्देशक तथा महोत्सव संयोजक कमल एक्चै मगर, निर्माता रौनक विक्रम कँडेल लगायतको उपस्थिति रहेको थियो ।