सन्तोषको मेगा प्रोजेक्ट ‘बलिदान’मा दिव्य देव अनुबन्धित

सन्तोषको मेगा प्रोजेक्ट ‘बलिदान’मा दिव्य देव अनुबन्धित

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा निर्देशक सन्तोष सेनको मेगा प्रोजेक्ट ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै सिनेमामा उनको प्रवेश भएको हो ।

आसुसेन फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको मुख्य भूमिका मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सेनले बताए । ‘अभिनयमा पारङ्गत दिव्यजीलाई हामीले पहिले देखि नै नजरमा राखेका थियौँ तर औपचारिक रूपमा भने सिनेमाको विषयमा कुराकानी गर्न पाएका थिएनौं । सिनेमाको पात्रको लागि उहाँ सुहाउँदो कलाकार हुनुहुन्छ’ निर्देशक सेनले भने ।

अभिनेता दिव्यले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताए । सिनेमाको मुख्य भूमिकामा समीर भट्टले डेब्यु गर्दैछन् । सिनेमामा यसअघि नै अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भइसकेका छन् । अधिकांश चलेका कलाकारहरूको अभिनय रहने सिनेमालाई लिएर ठुलो अपेक्षा गरिएको छ ।

यही वर्ष रिलिज हुने सिनेमाको हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । सिनेमाको करिब ६० प्रतिशत छायांकन स्टुडियोमा नै हुँदैछ । निर्देशक सेनले सिनेमाको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच सेट डिजाइन भइरहेको बताए ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर सिनेमा रहने निर्देशक सेनले बताउँछन् । यो सिनेमालाई एक सार्वभौम परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र त्यसपछि राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने व्यक्तिहरूलाई सिद्धयाउन पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने बताए ।

सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सहनिर्माता प्रेम पुरी रहेका छन् ।