पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दृश्य खिचेसँगै सकियो ‘नमेटिने घाउ’को छायांकन

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दृश्य खिचेसँगै सकियो ‘नमेटिने घाउ’को छायांकन

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिनयमा डेब्यु गरेका छन् । मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा सिनेमा ‘नमेटिने घाउ’को छायांकन गरिएको हो ।

उनको दृश्यको छायांकन झण्डै डेढघण्टा गरिएको निर्माण टिमले जानकारी दिएको छ । उनले पूर्वप्रधानमन्त्रीकै रुपमा सिनेमामा अभिनय गरेको प्रोडक्सन डिजाइनर प्रणव सुवेदीले जानकारी दिए । एसिड आक्रमण घटनाको पीडितका कथामा निर्माण भएको सिनेमालाई रमित ढुंगानाले निर्देशन गरिरहेका छन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।

ओलीले यसअघि नै आफूले सिनेमा खेल्ने जानकारी दिइसकेका थिए । ओली सरकारले यसअघि एसिड आक्रमणविरुद्ध कडा सजायको व्यवस्थासहित अध्यादेश जारी गरेको थियो । एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान उल्लेख थियो ।

गतसाता अर्का पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वमन्त्री तथा सांसद देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीको दृश्यलाई कोटेश्वरमा छायांकन गरिएको थियो । यो सामाजिक कथानक सिनेमाको पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती, र भक्तपुरमा ५१ दिनसम्म छायांकन गरिएको छ । सिनेमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दृश्य खिचिएसँगै इन्डक्ल्याप गरिएको छ ।

शिवम् अधिकारीको लेखन रहेको सिनेमामा ३३ जना एसिड पीडितको कथा समेटिएको छ । सुरवीर पण्डित, रामचन्द्र अधिकारी, मुस्कान खातुन, सिम्रन खड्का, रचना गौतम, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, आरती आचार्य, प्रभातपल ठकुरी, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायतको ‘नमेटिने घाउ’मा अभिनय रहेको छ ।