‘गाउँ आएको बाटो’को विदेश राइट्स सेभेन सिजले खरिद गर्यो

‘गाउँ आएको बाटो’को विदेश राइट्स सेभेन सिजले खरिद गर्यो

द सिनेमा टाइम्स
980
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नवीन सुब्बाको निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति एक साता पोस्टपोण्ड गरिएको छ । अब यो सिनेमा जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ । यो मितिमा यसअघि नै ‘लण्डन टू पेरिस’ पनि रिलिज हुने घोषणा भैसकेको छ ।

सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । सेभेन सीज इन्टरटेन्मन्टले सिनेमाको प्रदर्शन अधिकार खरिद गरेको हो । शनिबार सिनेमाका निर्माता र वितरक कम्पनीका प्रतिनिधिबीच अर्न्तराष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

विश्वका प्रतिष्ठित महोत्सवहरु घुमिसकेको ‘गाउँ आएको बाटो’मा अभिनेता दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रशान राई मुख्य भूमिकामा छन् । खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय रहेको सिनेमाले दुर्गम गाउँमा सडक र गाडी पुगेपछिको एउटा परिवारको कथालाई उठाएको छ ।

टोरोन्टो, गोटेबर्ग, बुसान, पुणे, बेइजिङ जस्ता फेस्टिभलमा छनोट भएर प्रदर्शन भइसकेका सिनेमालाई अमेरिकी छायाँकार मार्किन कापरोनले छायांकन गरेका हुन् । निर्देशक सुब्बा र महेश राईको स्क्रिप्ट लेखन रहेको सिनेमाको निर्मातामा अमोद राई र निर्देशक सुब्बा छन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्माता हुन् ।